गोरखापत्र उनन्चास मातृभाषामा

गोरखापत्र दैनिकमा ४९ मातृभाषामा समाचार सामग्री प्रकाशन गर्न थालिएको छ । पछिल्लो पटक अति सीमान्तकृत सन्थाल, हायु र बोटे भाषा पृष्ठ समावेश भएसँगै यो सङ्ख्या ४९ पुगेको हो ।

None

काठमाडौँ, वैशाख २४ गते । गोरखापत्र दैनिकमा ४९ मातृभाषामा समाचार सामग्री प्रकाशन गर्न थालिएको छ । पछिल्लो पटक अति सीमान्तकृत सन्थाल, हायु र बोटे भाषा पृष्ठ समावेश भएसँगै यो सङ्ख्या ४९ पुगेको हो । गोरखापत्रको ‘नयाँ नेपाल’ शीर्षक अन्तर्गत बहुभाषिक पृष्ठमा मातृभाषाका सामग्री प्रकाशन भइरहेको छ । 

गोरखापत्रमा २०६४ असोज १ गतेदेखि विभिन्न मातृभाषाका समाचार सामग्री समेटिएको ‘नयाँ नेपाल’ बहुभाषिक पृष्ठ प्रकाशन प्रारम्भ गरिएको थियो । २०६२/६३ को जनआन्दोलनपछि जारी नेपालको अन्तरिम संविधान, २०६३ ले विभिन्न मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिएपछि नेपालको संवैधानिक इतिहासमा पहिलो पटक बहुभाषा नीतिले संवैधानिक मान्यता पाएको थियो । यो संवैधानिक व्यवस्था २०७२ असोज ३ गते जारी भएको नेपालको संविधान, २०७२ मा पनि छ । 

गोरखापत्र संस्थानको तत्कालीन सञ्चालक समितिले मुलुकको समावेशिता र बहुभाषिक नीतिलाई कार्यान्वयन गर्न २०६४ साउन ४ गते ‘नयाँ नेपाल’ शीर्षक अन्तर्गत बहुभाषिक पृष्ठ प्रकाशन गर्ने निर्णय गरेको थियो । दोस्रो जनआन्दोलनताका ‘नयाँ नेपाल’ बहुप्रचलनमा थियो । विसं १९५८ वैशाख २४ गतेदेखि नेपाली भाषामा प्रकाशन प्रारम्भ भएको गोरखापत्र दैनिकमा २०६४ असोज १ गतेदेखि छ भाषा (तामाङ, मैथिली, लिम्बू, गुरुङ, राई र नेपाल (नेवार)) मा सामग्री प्रकाशन भएका थिए । 

 

https://gorkhapatraonline.com/news/204664