गोरखापत्रमा बझाङी राजा जयपृथ्वीबहादुर सिंहको स्मरण
गोरखापत्र अनलाइन
काठमाडौैं, भदौ ७ गते । बझाङी राजा जयपृथ्वीबहादुर सिंहको १५० औं जन्मजयन्तीको अवसरमा उहाँलाई स्मरण गरिएको छ । गोरखापत्र संस्थानमा आज उहाँको जन्मजयन्तीको अवसरमा योगदानको चर्चा गर्दै मूर्तिमा माल्यार्पण गरिएको छ ।
संस्थानका महाप्रबन्धक हिक्मतबहादुर रावलले सिंहको मूर्तिमा माल्यार्पण गर्दै उहाँको योगदानको स्मरण गर्नुभयो । सुदूरपश्चिमको बझाङ जिल्लामा १९३४ भदौ ७ गते जन्मनुभएका सिंह गोरखापत्रको प्रकाशनका लागि सुरुवाती कालमा खेल्नुभएको योगदान सराहनीय भएको बताउनुभयो ।
जङ्गबहादुर राणाका नाती र तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाका ज्वाइँ पर्नुहुने जयपृथ्वीबहादुर सिंह गोरखापत्रको तालुकदार भएर जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।
गोरखापत्रको सुधारसँगै बझाङलगायत नेपालको विकास निर्माण र समाज सुधारमा खेल्नुभएको भूमिका प्रसंशनीय रहेको भन्दै महाप्रबन्धक रावलले गोरखापत्रको महाप्रबन्धक भएर जिम्मेवारीमा आउन पाउँदा आफूलाई भाग्यमानी सम्झेको बताउनुभयो । जयपृथ्वीबहादुर सिंहले देखाउनुभएको बाटो र सुधारको सपनालाई पूरा गर्नमा आफूसहित सबैजना लाग्नुपर्छ भन्नुभयो ।
सिंह तत्कालीन बझाङी राजा बिक्रमबहादुर सिंहका जेठी रानी रुद्रकुमारीको जेठो छोराको रुपमा जन्मनुभएको थियो । उहाँले १७ वर्षको उमेरमा चन्द्रशमशेर राणका १४ वर्षीया छोरी खगेश्वरीदेवी राणासँग विवाह गर्नुभएको थियो । तर उहाँहरुको कुनै सन्तान भने भएन ।
सिंहले अक्षराङ्क शिक्षा नामक पुस्तक प्रकाशन गरी समाजमा शिक्षा सुधारको अभियान चलाउनुभएको थियो । उहाँको सो पुस्तक पाठ्यक्रमको रुपमा पठनपाठन गराइने गरिएको थियो । उहाँको प्राकृतव्याकरण नामक अर्को पुस्तक पनि प्रकाशन भएको थियो ।
गोरखापत्र संस्थान प्राङ्गणमा स्थापना गरिएको सिंहको मूर्तिमा संस्थान सञ्चालक समिति सदस्य तथा गोरखापत्र अनलाइन प्रकाशनका निमित्त सम्पादक लक्की चौधरी, गोरखापत्र दैनिकका प्रधान सम्पादक जुनारबाबु बस्नेत, दि राइजिङ नेपालका निमित्त प्रधान सम्पादक रमेश लम्साल, प्रशासन निर्देशक ताराबहादुर बस्याल, उत्पादन निर्देशक ओम भुषाल लगायत कर्मचारी तथा पत्रकारहरुले पुष्पगुच्छा अर्पण गरी स्मरण गर्नुभयो ।