हिक्मत बहादुर रावल

हिक्मत बहादुर रावल

महाप्रबन्धक, गोरखापत्र संस्थान

प्रारम्भिक जीवन

हाल गोरखापत्र संस्थानका महाप्रबन्धक रहनुभएका हिक्मतबहादुर रावल नेपालका अनुभवी पत्रकार तथा सञ्चार व्यवस्थापक हुनुहुन्छ। उहाँ साढे दुई दशकदेखि पत्रकारिता तथा सञ्चार व्यवस्थापन क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ। उहाँको जन्म डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका मा भएको हो। उहाँको स्थायी ठेगाना धनगढी उपमहानगरपालिका, सन्तोषीटोल, कैलाली हो। उहाँ पिता टेकबहादुर रावल माता स्वर्गीय कलिपतीदेवी रावलका सुपुत्र हुनुहुन्छ।

रावलले समाजशास्त्र, आमसञ्चार तथा पत्रकारिता तथा अंग्रेजी साहित्यमा स्नातकोत्तर गर्नुभएको छ। वि.सं. २०५७ सालदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आउनुभएका उहाँसँग मुद्रण, रेडियो, टेलिभिजन तथा डिजिटल पत्रकारितामा २५ वर्षभन्दा बढीको व्यावसायिक अनुभव छ। पछिल्लो समय बीबीसी वर्ल्ड सर्भिस (नेपाली सेवा) मा कार्यरत रहँदाकै समयमा उहाँ नेपाल सरकारद्वारा गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा नियुक्त हुनुभएको हो। यसअघि उहाँले विभिन्न छापा तथा विद्युतीय सञ्चारमाध्यममा सम्पादकीय, व्यवस्थापकीय तथा संस्थागत नेतृत्व प्रदान गर्नुभएको छ।

उहाँले खोजमूलक पत्रकारिता, सार्वजनिक सरोकारका विषयमा रिपोर्टिङ, वृत्तचित्र निर्माण, द्वन्द्व तथा संकटकालीन समाचार सम्प्रेषण, सम्पादकीय नेतृत्व, सञ्चार व्यवस्थापन तथा संस्थागत विकासको क्षेत्रमा उल्लेखनीय अनुभव हासिल गर्नुभएको छ। 

पत्रकारितासँगै उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न नेतृत्वदायी जिम्मेवारीसमेत निर्वाह गर्नुभएको छ। नेपालभारत पत्रकार महासंघको अध्यक्षका रूपमा सात वर्ष नेतृत्व गर्दै नेपाल भारतबिच सञ्चार सहकार्य, पत्रकारिता आदानप्रदान, व्यावसायिक सम्बन्ध विस्तार तथा संस्थागत समन्वय सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। त्यसैगरी, ‘भिजिट नेपाल २०२०अभियानअन्तर्गत क्यानडामा सञ्चार संयोजकका रूपमा कार्य गर्दै नेपालको पर्यटन, सांस्कृतिक सम्पदा तथा लगानीका सम्भावनाको अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि सञ्चार अभियानको नेतृत्व गर्नुभएको थियो। सो अभियानमा पुर्याएको योगदानको कदरस्वरूप उहाँ प्रशंसापत्रबाट सम्मानित हुनुभएको थियो।

व्यावसायिक दक्षता अभिवृद्धिका लागि उहाँले नेपाल प्रेस इन्स्टिच्युट, अल जजिरा, नेपाल जेसिज तथा अन्य राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संस्थाबाट उन्नत पत्रकारिता, खोज पत्रकारिता, द्वन्द्वकालीन रिपोर्टिङ, मानवअधिकार, शान्ति पत्रकारिता, टेलिभिजन रिपोर्टिङ तथा प्रशिक्षक प्रशिक्षण लगायतका विभिन्न व्यावसायिक तालिम प्राप्त गर्नुभएको छ।

हाल गोरखापत्र संस्थानका महाप्रबन्धकको रूपमा उहाँ सार्वजनिक सञ्चार संस्थाको संस्थागत सुदृढीकरण, सम्पादकीय विश्वसनीयता, व्यावसायिक उत्कृष्टता, डिजिटल रूपान्तरण तथा सार्वजनिक सेवा पत्रकारिताको प्रभावकारिता अभिवृद्धिलाई प्राथमिकतामा राखी नेतृत्व प्रदान गरिरहनुभएको छ।