गोरखापत्रको महाप्रबन्धकमा रावल

None

गोरखापत्र समाचारदाता
काठमाडौँ, असार १८ गते 
सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा कैलालीका हिक्मतबहादुर रावललाई नियुक्त गर्ने निर्णय गरेको छ । गत चैत १६ गतेदेखि संस्थानको महाप्रबन्धक पद रिक्त थियो । नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले असार १८ गतेको मन्त्रीपरिषद्को बैठकले रावललाई महाप्रबन्धक पदमा नियुक्त गर्ने निर्णय गरेको जानकारी दिनुभयो । धनगढी उपमहानगरपालिका–२ का ४७ वर्षीय रावल बिबिसी (नेपाली सेवा) मा सुदूरपश्चिम प्रदेशबाट राजनीतिक, सामाजिक तथा विकासका मुद्दामा कलम चलाउने पत्रकारका रूपमा परिचित हुनुहुन्छ । 
सरकारले संस्थानको महाप्रबन्धक पदका लागि गत जेठमा विज्ञापन आह्वान गरेकोमा ३५ जनाले दरखास्त पेस 
गरेका थिए । 
दस जनाको सङ्क्षिप्त सूची प्रकाशन भएपछि सरकारले अन्तर्वार्ता र व्यावसायिक कार्ययोजना तथा प्रस्तुतिका आधारमा रावललाई महाप्रबन्धक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । समाजशास्त्र र पत्रकारिता तथा आमसञ्चार गरी दुई विधामा स्नातकोत्तर गर्नुभएका रावलले सम्पादकीय नेतृत्व र नीतिकेन्द्रित पत्रकारिता, खोज पत्रकारिता तथा संस्थागत विकास र सुुदृढीकरणमा दक्षता राख्नुभएको छ । डडेलधुराको गन्यापधुरा गाउँपालिकामा जन्मिनुभएका रावलले विसं २०५७ सालमा नेपाल टाइम्स र सेती समाचार दैनिकको सम्पादकको रूपमा पत्रकारिता यात्राको सुरुवात गर्नुभएको थियो । 
रावलसँग टेलिभिजन पत्रकारिताको लामो अनुभव छ । उहाँले ‘भिजिट नेपाल २०२०’ क्यानडाको अन्तर्राष्ट्रिय मिडिया संयोजकको रूपमा नेपालको प्रतिनिधित्व गर्नुका साथै नेपाल–भारत पत्रकार महासङ्घको अध्यक्षका रूपमा द्विपक्षीय सञ्चार सम्बन्ध, व्यावसायिक र संस्थागत समन्वयमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ । समाचारकक्ष व्यवस्थापन, साङ्ठनिक सुशासन एवं कुशल नेतृत्वको अनुभव बोकेका रावल सम्पादकीय निष्पक्षता, विश्वसनीय र जवाफदेही पत्रकारिताप्रति प्रतिबद्ध पत्रकारका रूपमा चिनिनुहुन्छ ।