तीन जना वरिष्ठ साहित्यकारलाई मधुपर्क सम्मान २०८३

तीन जना वरिष्ठ साहित्यकारलाई मधुपर्क सम्मान २०८३

None

काठमाडौँ, जेठ ३० गते । मधुपर्क सम्मान २०८३ बाट तीन जना वरिष्ठ साहित्यकार सम्मानित हुनुभएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले उहाँहरूलाई नगदसहित सम्मानपत्रले सम्मानित गर्नुभयो । 

सम्मानित हुनुहुनेमा वरिष्ठ साहित्यकार यादव खरेल (पद्य), वरिष्ठ कथाकार भाउपन्थी (गद्य) र मधुपर्क प्रतिभाबाट डा. गीता त्रिपाठी हुनुहुन्छ । उहाँहरुलाई जनही नगद ५० हजार रुपियाँ र सम्मानपत्रले सम्मानित गरिएको छ । गोरखापत्र संस्थानको साहित्यिक मासिक पत्रिका मधुपर्कले हरेक वर्ष सम्मान प्रदान गर्दैआएको छ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशको साहित्य, संस्कृति र सङ्गीत बलियो भयो भने अन्य पक्ष पनि बलियो हुने बताउनुभयो । सम्मान कार्यक्रममा उहाँले गोरखापत्र संस्थानले भाषा साहित्य क्षेत्रमा उत्कृष्ट काम गरिरहेको बताउँदै यसको समृद्धिका लागि सबैको साथ आवश्यक रहेको बताउनुभयो । 

“सरकार त एउटा व्यवस्थापक मात्र हो, गोरखापत्र, मधुपर्क र यसका प्रकाशनको निरन्तरताका लागि सबैको साथ र सहयोगको खाँचो पर्छ” उहाँले भन्नुभयो, “सूचना तथा सञ्चार मन्त्रालय मातहतका सबै अङ्गलाई बलियो बनाउने गरी सरकारले काम गरिरहेको छ, देश बलियो हुन सरकारका सबै अङ्ग बलियो हुनैपर्छ ।”

https://gorkhapatraonline.com/news/210073