गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १ गते
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चार माध्यमप्रतिको दृष्टिकोण बदल्न आवश्यक रहेको बताउनुभएको छ । गोरखापत्र संस्थानको सहप्रकाशन द राइजिङ नेपालको ५९ औँ वर्ष प्रवेशका अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यव्रmममा उहाँले सो कुरा बताउनुभएको हो ।
“म आफ्नो ठाउँबाट प्रतिबद्ध छु । तपाईंहरू पनि आफ्नो जिम्मेवारीमा प्रतिबद्ध भइदिनुस् । त्यसो भएमा मलाई लाग्छ सरकारी सञ्चार माध्यमप्रतिको सबै दृष्टिकोण हामी बदल्न सक्छौँ,” सञ्चारमन्त्री शर्माले भन्नुभयो, “सरकारी मिडियाको सन्दर्भमा भन्ने हो भने सरकारका सूचना जनसमक्ष लैजाने हाम्रो एउटा पार्ट हो । तर जनताले के चाहन्छन्, जनताको के चाहना छ भन्ने कुरा सरकारसम्म पुर्‍याउने काम पनि हो ।”
उहाँले सरकारप्रति जनताको आकाङ्क्षा, अपेक्षा, काम, धारणाका साथै सरकारले के गर्नु पर्छलगायतका विषयमा जनताको स्तरबाट समीक्षाको काम सञ्चार माध्यमले गर्नुपर्ने बताउनुभयो । “गोरखापत्र सरकारका निम्ति छाप्ने जस्तो, सरकारले सहयोग गरेर छाप्ने जस्तो र सरकारी मान्छेले मात्र पढ्ने जस्तो मिडिया बनाउन हुन्न,” उहाँले भन्नुभयो । उहाँले गोरखापत्र र द राइजिङ नेपाललाई पाठकले कुर्नैपर्ने, पढ्नैपर्ने बनाउन लोक सेवा, रोजगारलगायतका विषय समेट्नुपर्ने सुझाव दिनुभयो ।
उहाँले ‘सरकारी सञ्चार माध्यम भनेका त सरकारका भजन गाउने मिडिया हुन् । गोरखापत्र के पढ्नु ? सरकारकै कुरा लेख्ने त हो । द राइजिङ नेपाल किन पढ्ने ? त्यो गोरखापत्रकै अङ्ग्रेजी उल्था त हो’ भन्नेलगायतका दृष्टिकोणलाई चिर्नुपर्ने बताउनुभयो ।
सञ्चार माध्यम ‘वन–वे’ को सट्टा ‘टु–वे’ बनाउनुपर्ने सुझाव दिँदै उहाँले सरकारले गरेका काम जनतासमक्ष लैजाने र जनताका आशा, अपेक्षा र सरकारप्रतिका गुनासालाई समेत व्यवस्थित ढङ्गले सरकारसमक्ष लैजाने काम सञ्चार माध्यमको रहेको उल्लेख गर्नुभयो । आगामी दिनमा परम्परागत रूपमा छापा सञ्चार माध्यम अगाडि बढ्न नसक्ने भन्दै उहाँले सञ्चार माध्यममा कुनै न कुनै विशेष विषयमा ‘लिडिङ’ कार्यव्रmम प्रस्तुतिको आवश्यकता रहेको बताउनुभयो  ।
“हामीले विगतमा गरेका कामको गभ्भीर समीक्षा गरेर आगामी दिनमा द राइजिङ नेपाललाई अगाडि बढाउनेतर्फ लाग्नु पर्छ,” सञ्चारमन्त्री शर्माले भन्नुभयो, “आज हामी कुन ठाउँमा छौँ भन्ने कुराको राम्ररी समीक्षा नगर्ने हो भने साँच्चै बजारमा टिक्न र अगाडि बढ्न गाह्रो छ ।” उहाँले सूचना प्रविधि र सामाजिक चेतनामा आएको परिवर्तनलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले हामी राजनीतिक परिवर्तनको ‘एजेन्डा’ मा छैनौँ । परिवर्तनको एजेन्डालाई पूरा गरेर मुलुकको समृद्विको दिशामा अगाडि लैजाने एजेन्डामा छौँ ।”
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले द राइजिङ नेपालले मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिकलगायतका समग्र विषयवस्तुलाई अङ्ग्रेजी भाषाको माध्यमबाट विश्वका पाठकसामु पुर्‍याएको बताउनुभयो । उहाँले ‘थर्ड वल्र्ड कन्ट्री, अति कम विकसित मुलुक र भूपरिवेष्टित मुलुकका आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा राख्न सरकारी सञ्चार गृहका तर्फबाट यस पत्रिकाले महìवपूर्ण योगदान गर्नुपर्नेमा जोड दिनुभयो । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्र संस्थानका प्रकाशनहरूले राज्यलाई निरन्तर रूपमा गुन लगाउँदै आएको चर्चा गर्दै भूकम्पपछि जीर्ण बनेका संस्थानका भौतिक पूर्वाधार सबल बनाउन सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले मन्त्रालयले गरेको अपेक्षा अनुरूप गुणस्तरीय र विश्वसनीय सामग्री प्रकाशनका लागि संस्थान सव्रिmय रहेको उल्लेख गर्नुभयो । संस्थानका करिब दुई सय कर्मचारी जोखिमयुक्त चिह्न लागेका भवनबाट कामकाज गर्न बाध्य रहेको भन्दै उहाँले भवन पुनर्निर्माण गर्ने स्रोत संस्थानसँग नरहेकाले सरकारले त्यसको स्वामित्व लिनुपर्ने बताउनुभयो । उहाँले आगामी बजेटमा गोरखापत्र संस्थानको भवन निर्माणलाई समावेश गर्न सरकारसँग आग्रह गर्नुभयो । संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्र र द राइजिङ नेपालको प्रकाशनले नागरिकको विश्वास जगाउनुका साथै अङ्ग्रेजी भाषाको माध्यमबाट नेपालका गतिविधिलाई विश्वमा चिनाउन राइजिङ नेपालको अतुलनीय योगदान रहेको बताउनुभयो ।
काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा. सुधांशु दाहालले ‘अङ्ग्रेजी दैनिकका लागि विद्युतीय मार्ग निर्माण’ विषयक कार्यपत्र प्रस्तुत गर्दै गोरखापत्र र द राइजिङ नेपालको स्थापनाकाल र अहिलेको समयमा ठुलो परिवर्तन आएकाले यी दैनिकहरूले आफूलाई समयानुकूल प्रतिस्पर्धी र प्रविधिमय बनाउनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । उहाँले सरकारी दैनिक पत्रिका भएकाले गोरखापत्र र द राइजिङ नेपालको जिम्मेवारी र दायित्व अन्य मिडियाभन्दा अझ बढी रहेको बताउनुभयो ।
द राइजिङ नेपालका प्रधान सम्पादक भीमसेन थपलियाले ‘नजिकिँदै यात्राको छ दशक’ विषयक कार्यपत्र प्रस्तुत गर्दै द राइजिङ नेपालको अहिलेको समग्र अवस्था र भावी योजनाबारे जानकारी गराउनुभयो । द राइजिङ नेपालका पूर्वप्रधान सम्पादक गोपाल शर्माले पत्रिकाको विषयवस्तुको गुणस्तरीयतामा समय अनुसार ध्यान दिनुपर्ने बताउँदै गोरखापत्र र द राइजिङ नेपाल सरकारको कामकारबाहीबारे मात्र समाचार मात्र दिन नहुने धारणा व्यक्त गर्र्नुभयो ।