सल्लाहकारमा अधिकारी र चौधरी
गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १३ गते
गोरखापत्र संस्थानका सल्लाहकारमा रामकृष्ण अधिकारी र सुशीला चौधरी नियुक्त हुनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद् बैठकले गोरखापत्र संस्थान ऐन–२०१९ बमोजिम उहाँहरूलाई सल्लाहकारमा दुई वर्षका लागि नियुक्त गरिएको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पुस ५ गतेको मन्त्रीपरिषद् बैठकले अधिकारीलाई व्यवस्थापन, आर्थिक एवं प्रिन्टिङ तथा चौधरीलाई कानुनी सल्लाहकार नियुक्त गरेको जानकारी दिनुभयो । नुवाकोट सूर्यगढी गाउँपालिका वडा नं. २ का बासिन्दा अधिकारी २०५९ सालदेखि पत्रकारिता सेवामा सक्रिय हुनुहुन्छ । उहाँले महिमा साप्ताहिक, साँघु साप्ताहिक, समय साप्ताहिक, रेडियो मिर्मिरे, राजधानी दैनिकलगायतमा काम गर्नुभएको छ । अन्नपूर्ण पोस्ट दैनिकका राजनीतिक ब्युरो प्रमुख भइसक्नुभएका उहाँ पछिल्लो समयमा मेरो न्युज डटकमको सम्पादकको जिम्मेवारीमा हुनुहुन्थ्यो । त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता विषयमा स्नातकोत्तर अधिकारी नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ प्रेस सेन्टरका उपमहासचिवको जिम्मेवारीमा समेत हुनुहुन्छ ।
यसै गरी दाङको घोराही उपमहानगरपालिका वडा नं. १७ निवासी चौधरी आठ वर्षदेखि कानुन व्यवसायमा सव्रिmय हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर चौधरीले कानुन विषयमा एलएलबी गर्नुभएको छ । उहाँ तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीमा भूमिगत भई राजनीतिमा समेत सक्रिय हुनुभएको थियो । उहाँका दाइ सहिद हुनुभएको थियो भने दिदी अझै बेपत्ता हुनुहुन्छ ।