गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १८ गते
गोरखापत्र संस्थानमा नवनियुक्त सल्लाहकारद्वय रामकृष्ण अधिकारी र सुशीला चौधरीले संस्थानमा पद बहाली गर्नुभएको छ ।
नेपाल सरकार मन्त्रीपरिषद्को पुस ५ को बैठकले पत्रकारिता क्षेत्रमा सक्रिय अधिकारीलाई आर्थिक, व्यवस्थापन तथा छपाइ र कानुनी क्षेत्रमा काम गर्दै आउनुभएका चौधरीलाई कानुनी  सल्लाहकारमा नियुक्त गरेको थियो ।
नवनियुक्त सल्लाहकारद्वयलाई स्वागत गर्दै गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले उहाँहरूको उपस्थितिले संस्थानलाई थप सबल र आत्मनिर्भर बनाउन टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
गौरवशाली इतिहास बोकेको गोरखापत्र संस्थानमा युवा पुस्ताले नेतृत्व गर्न पाउनु गर्वको विषय भएको धारणा व्यक्त गर्दै उहाँले संस्थानको स्थायी संरचनालाई थप बलियो र सबल बनाउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो । संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले नवनियुक्त सल्लाहकारद्वयको उपस्थितिले संस्थानलाई नयाँ उचाइमा पुर्याउन सहयोग पुग्ने
अपेक्षा गर्नुभयो ।
पद बहालीका क्रममा संस्थानका नवनियुक्त सल्लाहकार अधिकारीले गोरखापत्र संस्थानमा जोडिन पाउनु गर्वको विषय भएको बताउँदै आफ्नो क्षमताले भ्याएसम्म संस्थानको उन्नति र प्रगतिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसै गरी कानुनी सल्लाहकार सुशीला चौधरीले संस्थानलाई कानुनी रूपमा थप सबल बनाउने बताउनुभयो ।