गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ १७ गते
दी राइजिङ नेपालका उपसम्पादक नन्दलाल तिवारी गोरखापत्र संस्थानको सञ्चालक समिति सदस्यमा नियुक्त हुनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उहाँलाई चार वर्षका लागि बुधबार सञ्चालक समिति सदस्यमा नियुक्त गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव सुरेन्द्र थापाका अनुसार मन्त्रीस्तरको निर्णयबाट उहाँलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको छ । उहाँ अहिले राइजिङ नेपाल डेली डटकमको संयोजकसमेत हुनुहुन्‍छ । साबिकको सिर्सेकोट–७, स्याङ्जा स्थायी निवासी पत्रकार तिवारी १६ वर्षदेखि दी राइजिङ नेपालमा कार्यरत हुनुहुन्छ ।
त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गर्नुभएका पत्रकार तिवारीले चीनको बेइजिङस्थित युनिभर्सिटी अफ इन्टरनेसनल बिजनेस एन्ड इकोनोमिक्सबाट विश्व अर्थतन्त्रमा स्नातकोत्तर
गर्नुभएको छ ।