गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ १८ गते
गोरखापत्र संस्थानको सञ्चालक समिति सदस्यमा नियुक्त हुनुभएका स्याङ्जा सिर्सेकोट–७ का नन्दलाल तिवारी र अर्घाखाँची पाणिनी–५ का लेखनाथ न्यौपानेलाई बिहीबार संस्थानमा स्वागत गरिएको छ ।
संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरी, गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराई, सल्लाहकार सम्पादक उपेश महर्जन, दी राइजिङ नेपालका प्रधान सम्पादक भीमसेन थपलिया, गोरखापत्र अनलाइनका सम्पादक नारद गौतम, प्रशासन विभागका प्रमुख ओमप्रकाश भुसालले नवनियुक्त सञ्चालक समिति सदस्यलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिनुभयो । जेठ १७ गतेको मन्त्रीस्तरीय निर्णयले संस्थानको सञ्चालक सदस्य पदमा चार वर्षका लागि उहाँहरूलाई नियुक्त गरेको हो ।
नवनियुक्त सञ्चालकलाई स्वागत गर्दै  कार्यकारी अध्यक्ष सुवेदीले गोरखापत्रले नतिजा निस्कने गरेर काम गरिरहेको र नवनियुक्त सञ्चालकले संस्थानलाई उचाइमा पुर्‍याउन भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष सुवेदीले गोरखापत्रले सधैँ राज्य, नागरिक र व्यावसायिक धर्मलाई पूरा गर्ने लक्ष्य लिएको बताउनुभयो । उहाँले गोरखापत्रले अहिलेको आर्थिक मन्दीको समयमा पनि आम्दानी र खर्चको बाटोमा सही रूपमा हिँडिरहेको उल्लेख गर्नुभयो ।
संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले व्यावसायिक प्रतिस्पर्धा, गुणस्तर बनाउँदै गोरखापत्रलाई सुधार गर्न भएका प्रयासलाई नवनियुक्त सञ्चालक सदस्यले थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।
सल्लाहकार सम्पादक उपेश महर्जनले पछिल्लो समय गोरखापत्रले आफूलाई सुनका रूपमा प्रमाणित गरिसकेकाले त्यसमा सुगन्ध भर्ने जिम्मेवारी सञ्चालक समितिसँगै सम्पादकीय विभागको रहेको बताउनुभयो । उहाँले गोरखापत्रले आफूलाई थप व्यावसायिक बनाउँदै राज्यले दिएको समृद्धिको सपनालाई पूरा गराउन विशेष भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।