शशिधर पराजुली, नवराज कट्टेल
विराटनगर, पुस ८ गते
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चार माध्यमले सरकार र जनताबिचको पुलको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
गोरखापत्र संस्थानको विराटनगर प्रकाशन गृहको आइतबार अवलोकनपछि उहाँले सरकारले गरेका राम्रा काम जनताका बिचमा लैजाने र सरकारप्रति जनताको आशा, अपेक्षा र गुनासालाई सरकारसम्म पु¥याउने विशेष भूमिका जरुरी रहेको बताउनुभयो ।
उहाँले सरकारी सञ्चार माध्यम बढी स्वायत्त र स्वतन्त्र भई जनताप्रति उत्तरदायी बनून् भन्ने सरकारको अपेक्षा रहेको चर्चा गर्दै सरकारले गरेका सकारात्मक कामलाई तथ्यपूर्ण रूपमा प्रवाह गर्न र आवश्यक पर्दा आलोचनात्मकसमेत हुनु पर्छ भन्नुभयो ।
उहाँले सरकारी सञ्चार माध्यमप्रतिको धारणामा परिवर्तन ल्याउन यसमा समावेश हुने सामग्रीमा विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभयो । उहाँले सरकारले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एक ठाउँमा ल्याउने गरी सार्वजनिक प्रसारण ऐनको तर्जुमा गरिरहेको जानकारी दिँदै सरकारी सञ्चार माध्यम जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले तथ्यपरक सूचनाको अभावमा सरकार र राज्यप्रति नकारात्मक धारणा फैलिरहेको भन्दै पछिल्लो समय हातहातमा रहेको मिडियाका कारण उत्तरदायी भूमिका कमजोर बनिरहेकाले सरकारी सञ्चार माध्यमको भूमिका धेरै रहेको बताउनुभयो ।
उहाँले सूचना प्रविधिको क्षेत्रमा भएको विकासले छापा माध्यमको भविष्य छैन भन्ने कुरा सत्य नभएको भन्दै विशेष लेख, रचना, सम्पादकीयलगायतका सामग्रीको खोजी गरी यसको महŒव स्थापित गर्नेतर्फ ध्यान दिन निर्देशन दिनुभयो । उहाँले व्यवस्था परिवर्तनपछि जनताको अवस्था परिवर्तन गर्न सरकारले बल गरिरहेको भन्दै गोरखापत्रलगायत सञ्चार माध्यमबाट राजनीतिक व्यवस्था, समावेशिता र नेपालको संविधानमा भएका व्यवस्थाका बारेमा बहस चलाउनु आवश्यक रहेको बताउनुभयो ।
संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्रलाई जनताप्रति उत्तरदायी बनाउने र व्यावसायिक तथा प्रविधिमैत्री बनाउने कार्यलाई प्राथमिकतामा राख्दै सरकारसँग निरन्तर छलफल गरी काम गरिरहेको बताउनुभयो ।
संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्रले भौतिक उत्पादनको पहुँचका साथै कन्टेन्टको विकास गरी प्रविधिमैत्री बनाउने प्रयत्न गरिरहेको बताउनुभयो । उहाँले विराटनगरमा रहेको अत्याधुनिक अफसेट प्रेसलाई पूर्ण क्षमतामा सञ्चालन गर्न कानुनी अड्चन रहेकाले अवरोध हटाउन पहल गर्न सक्दा व्यावसायिक उपयोग गर्न सकिने बताउनुभयो ।
यसैबिच विराटनगरमा प्रेस सेन्टर नेपाल मोरङले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासलाई विदेशी मुद्रा आर्जनको माध्यम बनाउन सकिने बताउनुभयो ।
उहाँले सूचना प्रविधिको क्षेत्रमा अझ धेरै सम्भावना खोजी गर्न सूचना प्रविधिसम्बन्धी मेलाको आयोजना गरिने बताउँदै यस क्षेत्रमा युवालाई दक्ष बनाउन तथा नयाँ सम्भावना खोजी गर्न तालिम आवश्यक रहेको बताउनुभयो । उहाँले पछिल्लो १० वर्षमा सूचना प्रविधिको क्षेत्रमा व्यापक परिवर्तन आए पनि त्यसलाई व्यवस्थित गर्न समयानुकूल कानुन परिमार्जन नहुँदा कतिपय समस्या देखिएकाले सरकारले कानुन परिमार्जन गर्ने र नयाँ कानुन बनाउने तयारी गरेको बताउनुभयो ।
उहाँले तत्काल सरकारको नेतृत्व परिवर्तन हुने सम्भावना नरहेको भन्दै वर्तमान सरकारले एक वर्ष पूरा गरेपछि नयाँ ढङ्गले अगाडि बढ्ने तयारी भइरहेको बताउनुभयो । “ठूलाले जे गरे पनि हुन्छ र कानुन सानालाई मात्र लाग्छ भन्ने कुरा पछिल्ला काण्डहरूमा सरकारले गरेका कामबाट खण्डित भएको छ । सरकार सुशासन स्थापना गर्न प्रतिबद्ध छ भन्ने कुराको यी उदाहरणले पुष्टि गरेका छन्,” उहाँले भन्नुभयो ।