गोरखापत्र अनलाइन

काठमाडौं, चैत २४ गते । गोरखापत्र संस्थानका कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उद्देश्यसाथ सात दिने क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । 

संस्थानको योजना विभाग अन्तर्गत तालिम शाखाको आयोजनामा ‘विज्ञापन, व्यापार प्रवर्धन तथा ग्राफिक डिजाइन र अनलाइन विज्ञापनसम्बन्धी क्षमता अभिवृद्धि तालिममा २० जनाको सहभागिता रहेको थियो । 

तालिममा प्रशिक्षकहरू मोहन गजुरेल, रामु अर्याल र नितिन शर्माले प्रशिक्षण प्रदान गर्नुभयो । तालिममा गजुरेलले व्यापारिक रणनीति शीर्षकमा, शर्माले अनलाइन विज्ञापन तथा अर्यालले ग्राफिक डिजाइन सम्बन्धमा प्रशिक्षण दिनुभयो । 

योजना विभाग प्रमुख तथा गोरखापत्र संस्थानका प्रवक्ता बबिता कार्कीका अनुसार परम्परागत रूपमा काम गर्दैआएका कर्मचारीलाई समयानुकूल दक्ष बनाउन तालिम प्रदान गरिएको बताउनुभयो । तालिम उपलब्धिपूर्ण भएको उहाँको भनाइ छ । 

तालिम शाखाका प्रशासन अधिकृत रामबहादुर शाहले तालिममा सहभागी कर्मचारीको कार्यसम्पादनमा प्रभावकारिता बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार तालिम चैत १८ देखि सुरु भई २४ गते शनिबार सम्पन्न भएको छ ।