प्रधानमन्त्रीलाई फोटो उपहार
गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २४ गते
भनिन्छ, ‘एउटा तस्बिरले हजारौँ शब्द बोल्छ ।’ गोरखापत्रको सङ्ग्रहालयमा त्यस्ता कैयौँ तस्बिर छन्, २०३० देखि २०६० सम्मको समय खण्डको नेपालको वास्तविकता बोकेका ।
त्यतिबेला क्यामरामा रिल लगाएर फोटो खिच्ने प्रविधि थियो । त्यस्तै एउटा तस्बिर गोरखापत्रको १२५ औँ वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपहारस्वरूप प्रदान गरिएको छ ।
२०५८ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का
प्रभावशाली नेताको जिम्मेवारीमा रहँदा उहाँको अन्तर्वार्ता गर्ने क्रममा प्रधानमन्त्री ओलीको उक्त तस्बिर खिचिएको थियो । वार्षिकोत्सवका प्रमुख अतिथि प्रधानमन्त्री ओलीले राष्ट्रिय सभागृहमा राखिएको फोटो प्रदर्शनी अवलोकन गर्नुभयो ।
फोटो प्रदर्शनी अवलोकनका व्रmममा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरी, गोरखापत्र संस्थानका आर्ट तथा फोटोग्राफी प्रमुख रामप्रसाद हुमागाईंसहित संस्थानका पदाधिकारीले प्रधानमन्त्री ओलीलाई उहाँकै तस्बिर प्रदान गर्नुभएको हो ।
तस्बिर प्रदान गर्दा प्रधानमन्त्री ओली मुस्कुराउनुभयो र तस्बिरबारे जिज्ञासा राख्दै अन्य तस्बिर हेर्नुभयो । कार्यव्रmममा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लाखौँ ताराको बिचको चन्द्रमा जस्तै गोरखापत्र उठ्नुपर्ने बताउनुभयो । उहाँले सबै सम्पत्तिको संरक्षण गर्नुपर्ने बताउनुभयो ।
वरिष्ठ फोटो पत्रकार गोपाल चित्रकार २०३० सालमा पहिलो फोटो पत्रकारको जिम्मेवारीमा नियुक्त हुनुभएपछि तस्बिर सङ्कलन सुरु भएको हो । उहाँ गोरखापत्र संस्थानको महाप्रबन्धकको जिम्मेवारीमा पनि रहनुभयो । प्रमुख हुमागाईंले भन्नुभयो, “त्यसअघि दरबारदेखि दिएका र अन्य स्रोतबाट प्राप्त तस्बिर मात्रै प्रकाशित हुन्थे । अहिले हामीसँग हजारौँ तस्बिरको सङ्ग्रह छ ।”