निमित्ति प्रधान सम्पादकमा गौतम

गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन २५ गते
गोरखापत्र संस्थानको अङ्ग्रेजी प्रकाशन ‘दी राइजिङ नेपाल’ को निमित्त प्रधान सम्पादकमा विष्णुप्रसाद गौतम नियुक्त हुनुभएको छ । नवनियुक्त निमित्त प्रधान सम्पादक गौतमलाई साउन २६ गते सोमबारदेखि लागु हुने गरी सो जिम्मेवारी तोकिएको हो ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले निमित्त प्रबन्ध सम्पादक गौतमलाई निमित्त प्रधान सम्पादकको जिम्मेवारी तोकिएको र साउन २६ गतेदेखि लागु हुने गरी सो जिम्मेवारी प्रदान गरिएको उल्लेख गर्नुभएको छ । गोरखापत्र संस्थानमा आयोजित एक कार्यव्रmममा उहाँले जिम्मेवारीपत्र हस्तान्तरण गर्दै अध्यक्ष सुवेदीले गौतमको लामो समयावधिको पत्रकारिता क्षेत्रको अनुभव र क्षमताले ‘दी राइजिङ नेपाल’ दैनिकलाई थप बढी लोकप्रिय, स्तरीय र पठनीय बनाउने विश्वास व्यक्त गर्नुभयो ।
निमित्त प्रबन्ध सम्पादक गौतमले २०५३ माघमा सहायक सम्पादकका रूपमा दी राइजिङ नेपालमा सेवा प्रवेश गर्नुभएको हो । इलामका गौतमले अङ्ग्रेजीसँगै नेपाली, इतिहास, संस्कृति र पुरातत्त्व विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएको छ । भारतको नयाँ दिल्लीस्थित ‘इन्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेसन’ बाट विकास पत्रकारितामा डिप्लोमा गर्नुभएका गौतम त्रिभुवन विश्वविद्यालयबाट कानुन विषयमा स्नातक गर्नुभएको छ ।
थपलियाको बिदाइ
गोरखापत्र संस्थानले आफ्नो अङ्ग्रेजी प्रकाशन दी राइजिङ नेपालको निमित्त प्रधान सम्पादक भीमसेन थपलियालाई बिदाइ गरेको छ । करिब पाँच वर्ष सो जिम्मेवारीमा रहनुभएका थपलिया उमेरहदका कारण आइतबार ५८ वर्ष पूरा गरेकाले सोमबारबाट लागु हुने गरी सेवाबाट अवकाशप्राप्त गर्नुभएको हो ।
थपलिया २०५२ साल जेठ १४ गते उपसम्पादकका रूपमा दी राइजिङ नेपालमा नियुक्त हुनुभएको थियो । उहाँले ३० वर्ष २ महिना आठ दिन दी राइजिङ नेपालको विभिन्न पदमा कार्यरत रहँदै निमित्त प्रधान सम्पादकको जिम्मेवारीमा लामो समय सेवा गरी अवकाशप्राप्त गर्नुभएको हो । संस्थानका अध्यक्ष सुवेदीले मायाको चिनो र प्रशंसापत्रसहित उहाँलाई बिदाइ गर्नुभयो ।