तीन स्रष्टालाई मधुपर्क सम्मान
गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ ३० गते
गोरखापत्र संस्थानको सहप्रकाशन मधुपर्क साहित्यिक मासिक पत्रिकाको ५८ औँ वार्षिकोत्सवका अवसरमा तीन जना अग्रज साहित्यकारलाई ‘मधुपर्क सम्मान २०८२’ प्रदान गरिएको छ । वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा कवितातर्फ वरिष्ठ कवि ज्ञान उदास, आख्यानतर्फ वरिष्ठ कथाकार ध्रुव सापकोटा तथा खुला प्रतिभातर्फ वरिष्ठ साहित्यकार पद्मावती सिंहलाई पुरस्कारसहित सम्मान गरिएको छ ।
सम्मानित साहित्यकाहरूलाई वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीलगायतले संयुक्त रूपमा ५० हजार रुपियाँसहित पुरस्कार प्रदान गर्नुभयो । संस्थानका कार्यकारी अध्यक्ष सुवेदीले मधुपर्क साहित्यिक पत्रिकाले नेपाली साहित्यको सिङ्गो इतिहास बोकेको बताउनुहुँदै अग्रज साहित्यकारहरूलाई सम्मान गर्न पाउँदा गर्व महसुस भएको बताउनुभयो । “मधुपर्क पत्रिका नेपाली साहित्यको यात्राको सबै उकाली ओरालीको साक्षी रहेको छ । यो नेपाली साहित्यको पाठशाला पनि हो,” सुवेदीले भन्नुभयो । मधुपर्कलाई थप परिष्कृत गर्दै जाने क्रममा यसको पृष्ठ सङ्ख्या बढाउने तथा डिजिटल माध्यमबाट विस्तार गर्ने तयारी भइरहेको जानकारी पनि कार्यकारी अध्यक्ष सुवेदीले दिनुभयो ।
वरिष्ठ साहित्यकार विमलले आफूलाई साहित्यकारका रूपमा स्थापित गराउन मधुपर्कको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वविद्यालयमा साहित्य पढ्ने विद्यार्थीको सङ्ख्यामा कमी आइरहेको छ । प्राध्यापकको सङ्ख्या घटिरहेको छ । यस्तो अवस्थामा गोरखापत्रको व्यवस्थापनले अग्रजलाई सम्मान गरेर नेपाली साहित्यको श्रीवृद्धिमा योगदान दिएको छ ।”
मधुपर्कले वरिष्ठ साहित्यकार कृष्ण गौतमको संयोजकत्वमा पुरस्कार समिति गठन गरेको थियो । हिजोआज इतिहास, साहित्य तथा दर्शनको अध्ययनतर्फ विद्यार्थीको अरुचि बढ्दै गएकोतर्फ चिन्ता व्यक्त गर्दै गौतमले विद्यार्थी अभावमा मानविकी सङ्कायका विभिन्न विषयको पढाइ बन्द हुने अवस्थामा पुगेको बताउनुभयो । मधुपर्कका निमित्त सम्पादक त्रिभुवनचन्द्र वाग्लेले साहित्यको क्षेत्रमा लामो समय बिताउनुभएका साहित्यकारहरूको स्नेहका कारण मधुपर्कले विशिष्ट स्थान बनाउन सफल भएको बताउनुभयो ।
पुरस्कृत साहित्यकार सिंहले नेपाली, भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्न विशिष्ट योगदान पु¥याएको मधुपर्कले आफूहरूलाई सम्मान गरेर साहित्य सिर्जनामा अझ लगनशील भएर लाग्ने प्रेरणा दिएको बताउनुभयो । कथाकार सापकोटाले स्थापना कालदेखि नै आफ्ना रचना प्रकाशन गरेर गुन लगाएको मधुपर्कले पुरस्कारसमेत प्रदान गरेर थप सम्मान दिएको बताउनुभयो ।
साहित्यकार उदासले २०२७ सालदेखि आफ्ना रचना मधुपर्कमा छापिन थालेको स्मरण गर्दै पछिल्लो पुस्तामा साहित्य सिर्जनातर्फ रुचि जगाउन नसकिएकोमा चिन्ता व्यक्त गर्नुभयो । मधुपर्कका निमित्त सम्पादक वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यव्रmममा गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेत, दी राइजिङ नेपालका निमित्त प्रधान सम्पादक भीमसेन थपलिया, गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य तथा गोरखापत्र अनलाइनका निमित्त सम्पादक लक्की चौधरी तथा साहित्यकारहरूको उल्लेखीय उपस्थिति थियो ।