गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ १० गते

हरितालिका तीजको अवसरमा गोरखापत्र संस्थानमा आयोजित तीजको शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रममा गायिकाहरू ममता गुरुङ, स्वस्तिमा ढकाल र सञ्जा चौलागाईंले विभिन्न गीतको प्रस्तुतिमार्फत विशेष रौनक थप्नुभएको छ ।

गोरखापत्र संस्थान परिवारले शुक्रबार संस्थानपरिसरमा आयोजित कार्यक्रममा गायिकाहरूले ‘राधा पियारी...’, ‘सिमसिमे पानीमा...’ र ‘सम्झिने पानी छम्किने...’ बोलको गीत प्रस्तुत गर्दै गोरखापत्र संस्थानका महिला कर्मचारीहरूलाई छमछमी नचाउनुभएको हो ।

कार्यक्रममा संस्थानका अध्यक्ष विष्णु सुवेदीले संस्थानमा कार्यरत सबै महिला कर्मचारीप्रति तीज पर्वको अवसरमा सुस्वास्थ्य, दीर्घायु र सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

सो अवसरमा संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले पूर्वीय संस्कृतिमा महिलाले मान्ने पर्वका रूपमा निरन्तर चलिरहेको पर्वको गरिमालाई प्रवद्र्धन गर्न मनाइने तीजको अवसरमा सबैले खुसी साट्ने अवसर जुरेको बताउनुभयो ।

उहाँले संस्थानमा कार्यरत कर्मचारीबीच आपसी सद्भाव कायम राख्न पनि यस्ता कार्यक्रमले सहयोग गर्ने बताउँदै संस्थानमा रहुन्जेलका लागि एकै परिवार भएर रहन सफलता मिलोस् भन्दै शुभकामना दिनुभयो ।

सो अवसरमा संस्थानका सूचना प्रविधि विभाग प्रमुख रेखादेवी श्रेष्ठले विभिन्न विभागमा काम गर्ने महिला कर्मचारीलाई तीजको अवसरमा खुसियाली साटासाट गर्न तीज विशेष कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

गायिकाहरू ममता गुरुङ, स्वस्तिमा ढकाल र सज्जा चौलागाईंलाई संस्थान परिवारका तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।