गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ १ गते  
हिन्दु महिलाहरूको महान् चाड तिजको अवसरमा गोरखापत्र संस्थानमा कार्यरत महिला कर्मचारीले नाचगान गरी दर खाएर मनाएका छन् । 
गोरखापत्र संस्थानको सामान्य प्रशासन तथा सूचना प्रविधि विभागकी प्रमुख रेखादेवी श्रेष्ठको अध्यक्षतामा तिज कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा शुभकामना व्यक्त गर्दै संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले तिज केवल धार्मिक पर्व मात्र नभई सांस्कृतिक, सामाजिक र भावनात्मक एकताको प्रतीक हो, जसले नेपाली महिलाको जीवनमा विशेष अर्थ बोकेको छ भन्नुभयो ।  
गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेतले यस खुसीले सम्पूर्ण प्रकाशनमा ऊर्जा प्रदान गरोस्, आपसी सद्भाव र एकता अभिवृद्धि होस् भनी शुभकामना दिनुभयो । 
यसै गरी संस्थान सञ्चालक समितिका सदस्यसमेत रहनुभएका गोरखापत्र अनलाइन प्रकाशनका निमित्त सम्पादक लोकबहादुर चौधरीले नेपाली संस्कृतिमाथि पश्चिमा संस्कृतिको अतिक्रमण बढिरहेको चर्चा गर्दै तिज पर्वले हाम्रो सामाजिक सद्भाव र एकता कायम गर्न सफल भएको बताउनुभयो । 
संस्थानको खरिद शाखाका प्रमुख मीना अधिकारीले नारीको सशक्तीकरण गर्ने पर्वका रूपमा तिजलाई मनाउने गरिएकाले यसको मर्म र महत्त्वलाई बचाइ राख्नु पर्छ भन्नुभयो । कार्यक्रममा महिलाले विभिन्न तिज गीतमा छमछम नाचेर रमाइलो गर्नुभएको थियो ।