काठमाडौं, वैशाख २४ गते । गोरखापत्र प्रकाशनको १२३औं वर्ष प्रवेश तथा संस्थानको ६१औं वार्षिकोत्सवको अवसरमा आइतबार संस्थानमा कार्यरत १४ जना पत्रकार तथा कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । गोरखापत्र संस्थान उत्कृष्ट कर्मचारी छनोट उपसमितिको निर्णय अनुसार संस्थानमा कार्यरत पत्रकारिता, प्रशासन र प्राविधिक सेवाबाट एक–एक जना उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको हो ।  काठमार्डौंको राष्ट्रिय सभा गृहमा आयोजित विशेष कार्यक्रमबीच दैनिक प्रकाशन गोरखापत्र, दि राइजिङ नेपाल, अनलाइन प्रकाशन, उत्कृष्ट उपत्यका समाचारदाता तथा सातै प्रदेशका एक–एक जना पत्रकारलाई सम्मान प्रदान गरिएको छ । यस्तै नेपाल पत्रकार महासंघ गोरखापत्र प्रतिष्ठान शाखाद्वारा स्थापित गोरखापत्रका पूर्व प्रधानसम्पादक रामचन्द्र गौतमको स्मरणमा स्थापित रामचन्द्र इन्दु गौतम पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार रमेश तिवारीलाई प्रदान गरिएको छ । तिवारी गोरखापत्रका पूर्व निमित्त प्रधान सम्पादक हुनुहुन्छ । यस पुरस्कारको राशी ५० हजार रुपियाँ र सम्मान पत्र रहेको छ । पत्रकार चथा कर्मचारीलाई प्रधानमन्त्री पुष्पकमल दाहा ‘प्रचण्ड’ र सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले सम्मान गर्नुभयो ।

प्रतिष्ठानको पुरस्कार चार जनालाई
संस्थानको वार्षिकोत्सवका अवसरमा नेपाल पत्रकार महासंघ, गोरखापत्र प्रतिष्ठान शाखाले ‘गोरखापत्र सक्रिय पत्रकारिता पुरस्कार’ गोरखापत्र दैनिकका निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराईलाई प्रदान गरिएको छ ।

निमित्त प्रधान सम्पादक भट्टराई २०४९ साल फागुन १ गते तह ७ को उपसम्पादकमा गोरखापत्र संस्थानको सेवामा प्रवेश गर्नुभएको हो । उहाँले यसअघि निमित्त महाप्रबन्धकको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो । उहाँले विसं। २०७४ सालदेखि २०७८ सम्म ‘मुना’ मासिकको प्रधानसम्पादक हुनुहुन्थ्यो । 

यस्तै ‘गोरखापत्र सक्रिय पत्रकारिता पुरस्कार’ गोरखापत्र दैनिकमा कार्यरत दीपक श्रेष्ठलाई, ‘सुमन भोम्जन स्मृति पत्रकारिता पुरस्कार’ दी राइजिङ नेपालका कार्यरत अञ्जन खड्का र गोरखापत्र दैनिकमा कार्यरत यलु जोशीलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ गोरखापत्र प्रतिष्ठान शाखाको पुरस्कार समितिको निर्णय अनुसार उहाँहरुलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो ।

पत्रकारिता सेवातर्फ उत्कृष्ट सम्मान गोरखापत्र दैनिकका प्रमुख समाचारदाता केदारप्रसाद भट्टराईलाई प्रदान गरिएको छ । उहाँ २०५५ साल मङ्सिर २८ गते गोरखापत्र दैनिकमा सहायक समाचारदाताको रुपमा प्रवेश गर्नुभएको हो । 

यस्तै वार्षिकोत्सवको अवसरमा उत्कृष्ट कर्मचारी प्रशासन सेवातर्फ रमेश तामाङलाई सम्मान गरिएको छ ।  तामाङ २०६५ साल जेठ २१ गते सहलेखापालको रुपमा गोरखापत्र संस्थानको सेवामा प्रवेश गर्नुभएको थियो । उहाँ भण्डार शाखाको लेखापाल हुनुहुन्छ । 

प्राविधिक सेवातर्फको उत्कृष्ट कर्मचारी सम्मान हरिशरण थापालाई प्रदान गरिने भएको छ ।  उहाँ २०४४ साल असोज ३० गते गोरखापत्र संस्थानको सेवामा प्रवेश गर्नुभएको हो । उहाँ प्रेस शाखामा हेल्परको रुपमा कार्यरत हुनुहुन्छ । उहाँहरूलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको छ ।

चार समाचारदाता सम्मानित 

वार्षिकोत्सवको अवसरमा गोरखापत्रमा उपत्यका क्षेत्र बनाएर कार्यरत चारजना पत्रकारलाई सम्मान प्रदान गरिएको छ । सम्मानित हुनेमा गोरखापत्र संस्थानका फोटो पत्रकार विकास द्वारे, दि राइजिङ नेपाल दैनिकका इन्दिरा अर्याल, अनलाइन प्रकाशनका गोविन्द रेग्मी हुनुहुन्छ ।

फोटो पत्रकार विकास द्वारे २०६५ साल कात्तिक १० गते फोटो पत्रकारको रुपमा संस्थानमा प्रवेश गर्नुभएको हो । इन्दिरा अर्याल २०७६ पुस ९ गते समाचारदाताको रुपमा राइजिङ नेपालमा सेवा सुरु गर्नुभएको हो । गोविन्द रेग्मी २०७८ मङ्सिर १ गतेदेखि अनलाइन प्रकाशनमा समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।

यस्तै संस्थानमा कार्यरत देशभरका समाचारदातामध्येबाट उत्कृष्ट समाचारदाताको सम्मान पाउनुभएका केशवराज पौडेल २०७६ कात्तिक ४ गतेदेखि गोरखापत्रमा कार्यरत हुनुहुन्छ । उहाँलाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको छ ।

सात प्रदेशबाट सात जना जनालाई सम्मान 

संस्थानले वार्षिकोत्सवको अवसरमा उपत्यका बाहिरबाट सातवटै प्रदेशबाट एक९एक जनालाई सम्मान प्रदान गरेको छ । सम्मानित हुनेमा कोशी प्रदेशबाट भक्तिविलास पोखरेल (उदयपुर), मधेश प्रदेशबाट ललिताकुमारी साह (सप्तरी), बागमती प्रदेशबाट शान्ता अधिकारी (चितवन), गण्डकी प्रदेशबाट नवीन शिशिर विक (म्याग्दी), लुम्बिनी प्रदेशबाट नारद कोहार (कपिलवस्तु), कर्णाली प्रदेशबाट नेत्रबहादुर शाही (जुम्ला) र सुदूरपश्चिम प्रदेशबाट लोकेन्द्र जोशी (दार्चुला) हुनुहुन्छ ।

विज्ञापन एजेन्सीमा फ्यूचरहव पहिलो

संस्थानले प्रकाशनहरुमा अधिकतम कारोबार गर्ने विज्ञापन एजेन्सीहरुलाई पनि सम्मान गरेको छ । उत्कृष्ट कारोबार गर्नेमा फ्यूचर हब मिडिया प्रालि पहिलो भएको छ । यस्तै जोइन मिडिया प्रालि दोस्रो र आँगन मिडिया प्रालि तेस्रो भएको छ । यस्तै संस्थानका प्रकाशनहरु अधिकतम बिक्री गर्ने एजेन्टहरुमा राजन कटुवाल हेटौंडा, बासुदेव श्रेष्ठ पनौती र पुण्यराम ह्याउँखिमा भक्तपुर हुनुहुन्छ ।

यसैगरी गोरखापत्र संस्थान कर्मचारी संघ २०५२ ले विसं २०५८ सालमा स्थापना गरेको जयपृथ्वी बहादुर सिंह उत्कृष्ट सेवा’ पुरस्कार २०७७ का लागि पुरस्कृत हुने कर्मचारीमा ज्योत्स्ना कुँवर र मैया कर्मचार्य, २०७८ का लागि तुलसीहरि कोइराला र बिजुला शाह तथा २०७९ का लागि ज्योती खड्का र बलराम यादव हुनुहुन्छ ।

यस्तै नेपाल राष्ट्रिय कर्मचारी संगठन-२०६३ गोरखापत्र सिंस्थान केन्द्रीय समितिको ‘जागरुक जनसेवक सम्मान’ मुकुन्दप्रसाद चिमारिया, सविता बस्नेत र मदन रानालाई प्रदान गरिएको छ । विशेष समारोहमा संस्थानको सेवामा २० र २५ वर्ष सेवा पूरा गर्ने कर्मचारीहरुलाई दीर्घसेवा पदकबाट सम्मान गरिएको थियो ।