गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन २१ गते
राष्ट्रपति रामचन्द्र पौडेलका सल्लाहकारहरूले पछिल्लो समय गोरखापत्रले गरेका सुधारको प्रशंसा गर्नुभएको छ । गोरखापत्र संस्थानमा राखिएका तस्बिर प्रदर्शनी अवलोकन गर्न आएका राष्ट्रपतिका सल्लाहकारहरूले गोरखापत्रका प्रकाशन, संस्थानको आर्थिक तथा भौतिक प्रगतिका साथै वर्तमान अवस्थाबारे चासो राख्नुभएको थियो । 
राष्ट्रपतिका राजनीतिक सल्लाहकार  सुनीलबहादुर थापाले कुनै बेला गोरखापत्र सूचनाका लागि पढिने गरेकोमा अहिले यसका सामग्रीमा परिवर्तन आएको बताउनुभएको छ । गोरखापत्र संस्थानमा राखिएका तस्बिर प्रदर्शनीको अवलोकनपछि उहाँले भन्नुभयो, “कुनै बेला गोरखापत्र सूचना अर्थात् टेन्डरका लागि मात्रै पढ्ने गरिन्थ्यो । अहिले समय परिवर्तन भएको छ । समाचारका विषय त सबै एउटै हुन सक्छन् तर गोरखापत्रका समाचार लेखन, सम्पादकीय र विचारको प्रस्तुतीकरणमा फरकपन आएको छ । यसमा मलाई खुसी लागेको छ ।”
राष्ट्रपतिका अर्थ सल्लाहकार डा. चिरञ्जीवी नेपाल, अन्तर्राष्ट्रिय सम्बन्ध सल्लाहकार डा. सुरेशचन्द्र चालिसे, प्रेस सल्लाहकार किरण पोखरेल र राष्ट्रपति पौडेलकी छोरी अवज्ञा पौडेलले तस्बिर प्रदर्शनी अवलोकन गर्नुभयो । उहाँहरूले गोरखापत्रका माध्यमबाट नेपालका भाषा, संस्कृतिको विकासमा विशिष्ट योगदान पु‍र्‍याएको चर्चा गर्दै राष्ट्रपति कार्यालयबाट हुने सम्भव भएसम्मका सबै सहयोग रहने वचन दिनुभयो । 
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी र महाप्रबन्धक लालबहादुर ऐरीले उहाँहरूलाई स्वागत गर्नुभएको थियो । साथै उहाँहरूले राष्ट्रपतिका सल्लाहकारहरूलाई मायाको चिनोस्वरूप गोरखापत्रको पहिलो अङ्कको प्रतीक प्रदान गर्नुभयो । 
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष सुवेदीले गोरखापत्र संस्थानका सबै प्रकाशन वर्तमान डिजिटल युग सुहाउँदो परिवर्तन र सुधार गरेर प्रतिस्पर्धात्मक बजारमा आफूलाई अझ खरो रूपमा प्रस्तुत गर्न नयाँ कार्ययोजनासहित अगाडि बढेको बताउनुभयो । उहाँले गोरखापत्र संस्थानका प्रकाशनको समाचार सामग्रीको प्रस्तुति एवं गुणस्तरमा भएको वृद्धिले संस्थानको आम्दानीमा सकारात्मक प्रभाव देखिएको बताउनुभयो । 
गएको आर्थिक वर्षमा त्यसअघिको आवको तुलनामा २६ प्रतिशत (करिब १५ करोड रुपियाँ) आम्दानी वृद्धि भएको चर्चा गर्दै अध्यक्ष सुवेदीले भन्‍नुभयो, “अघिल्लो आव २०७८/७९ मा वार्षिक आम्दानी ५७ करोड रुपियाँ थियो । पछिल्लो आव २०७९/८० मा ७२ करोड आम्दानी प्राप्त भएको छ । आर्थिक मन्दीसँगै विज्ञापनको बजार खुम्चिँदै गएको अवस्थामा संस्थानको कमाइमा देखिएको उल्लेखनीय सुधारले आत्मनिर्भर हुने बाटोमा थप ऊर्जा मिलेको छ ।” कार्यकारी अध्यक्ष सुवेदीले पछिल्लो समय डिजिटल प्लेटफर्मको सुधारमा विशेष 
जोड दिइएको बताउनुभयो ।