गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २० गते
गोरखापत्र संस्थानले आफ्ना पुराना प्रकाशनको विद्युतीय अभिलेखीकरण (डिजिटल अर्काइभिङ) प्रणाली सुरु गरेको छ । सञ्चार तथा सूचना   प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले बुधबार गोरखापत्रको अत्याधुनिक डिजिटल अर्काइभिङ प्रणालीको अवलोकन गर्नुभयो ।
डिजिटल अर्काइभ स्टुडियो र संस्थानका प्रकाशनको अवलोकनक्रममा सचिव राउतले गोरखापत्र संस्थानका पुराना प्रकाशनको अभिलेखन गर्ने काम सराहनीय भएको बताउनुभयो । उहाँले नेपाली भाषाको विकास र संरक्षण गर्न डिजिटल अर्काइभिङले टेवा पुग्ने भन्दै त्यसका लागि मन्त्रालयले सक्दो सहयोग गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो इतिहासको खोजी र संरक्षण हो, यस कार्यमा हामी सबै लागौँ ।”
सचिव राउतले गोरखापत्र संस्थानका प्रकाशनले आफ्नो विरासत जोगाउँदै नयाँ प्रविधि आत्मसात् गरेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले गोरखापत्र पत्रकारिताको पाठशालाका साथै इतिहासको धरोहरसमेत रहेको उल्लेख गर्र्दै नेपाली भाषाबाहेक ३८ मातृभाषामा समाचार सामग्री प्रकाशित हुनु देशकै लागि गौरवको विषय हो भन्नुभयो ।
सचिव राउतले केही समययता छापा सञ्चारमाध्यममा सङ्कुचन आएको र यसलाई परास्त गर्न कार्ययोजना बनाएर गोरखापत्र अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले गोरखापत्रले राष्ट्रिय समाचार समिति, रेडियो नेपाल र नेपाल टेलिभिजनसँग सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
गोरखापत्रले बजार व्यवस्थापन, संरचना निर्माण, नयाँ योजना, कर्मचारीको वृत्तिविकासलगायतका विषय समाधान गर्न छिट्टै रणनीतिक भाबी योजना बनाएर लाग्न सुझाव दिँदै उहाँले भन्नुभयो, “गोरखापत्र प्राइम लोकेसनमा छ । यसलाई त्यत्तिकै खेर जान दिनुहुन्न ।
यस स्थानलाई अवसरका रूपमा लिएर कार्ययोजनासहित अघि बढ्नुहोस् । यसमा मन्त्रालयले सहयोग गर्छ ।”
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले संस्थानको समग्र अवस्थाबारे जानकारी गराउनुभयो । उहाँले संस्थानको बजेट संशोधन, संस्थानको भवन निर्माण, विनियम, कर्मचारीको वृत्तिविकासलगायतका विषय प्रस्तुत गर्नुभएको थियो ।
संस्थानका प्रकाशनलाई डिजिटाइजेसन गर्न गोरखापत्र संस्थानले राष्ट्रिय अभिलेखालय र त्रिवि केन्द्रीय पुस्तकालयसँग समझदारी गरी कार्य गरिरहेको छ ।
संस्थानले त्रिवि केन्द्रीय पुस्तकालयसँग मिलेर गोरखापत्र पुस्तकालयको स्तरोन्नति गरिसकेको छ । यसबाहेक प्रेस काउन्सिल नेपाल, मदन पुरस्कार पुस्तकालय, मार्टिन चौतारी पुस्तकालयलगायतसँग पनि संस्थानले समन्वय गरिरहेको छ । विभिन्न निकाय र संस्थामा यसअघि भएका संस्थानका प्रकाशनको डिजिटल अभिलेख सङ्कलन कार्य पनि सँगसँगै भइरहेको संस्थानका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । “डिजिटल अर्काइभको कार्य सम्पन्न गरी ऐतिहासिक धरोहरका रूपमा प्रकाशनको वेबमा आधारित सर्चेबल टेक्स्ट डेटाबेस विकास गर्ने हाम्रो उद्देश्य हो,” अध्यक्ष सुवेदीले भन्नुभयो, “१२३ वर्षको इतिहास बोकेको गोरखापत्रले निर्माण गर्न लागेको अनलाइन प्रणालीमार्फत संस्थानका हाल सञ्चालनमा रहेका तथा बन्द भइसकेका प्रकाशनको सम्पूर्ण डिजिटल अभिलेखमा आमनागरिकले पहुँच पाउनेछन् ।”
गोरखापत्र डिजिटल अर्काइभ परियोजनाका परामर्शदाता रविराज बरालले एक वर्षयता गोरखापत्रको डिजिटल अर्काइभिङले गति लिएको बताउनुभयो । “हाल हामीले एक दिनमा एक महिनाको गोरखापत्र दैनिकको डिजिटल अर्काइभिङ गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “यो गतिमा हामी अगाडि बढ्यौँ भने वर्ष दिनभित्रमा यो काम सम्पन्न गर्न सक्छौँ ।” उहाँले डिजिटल अर्काइभिङ निरन्तर चलिरहने प्रक्रिया
भएकाले एक पटक सबै डिजिटल अर्काइभिङ सकेपछि त्यसको उपयोगितामा ध्यान दिइने
जानकारी दिनुभयो ।
अर्काइभिङका सूचना प्रविधि परामर्शदाता अजयमणि पौडेलले गोरखापत्र संस्थानका सबै प्रकाशनको सूचीकरण गर्ने काम सकेर डिजिटाइजेसनको काम सुरु भएको जानकारी दिनुभयो । उहाँले गोरखापत्रमा दुई
महिनाअघि स्थापना गरिएको डिजिटल अर्काइभिङ स्टुडियो उच्च मापदण्डको रहेको र यसबाट गरिने डिजिटाइजेसनको काम गुणस्तरीय
हुने बताउनुभयो ।
अवलोकन भ्रमणमा संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी, गोरखापत्र दैनिकका प्रधानसम्पादक शिवकुमार भट्टराईलगायतको
सहभागिता थियो ।