गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ १६ गते
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गोरखापत्र सबै मिडियाको अभिभावक बन्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । गोरखापत्र प्रकाशनको १२३ वर्ष प्रवेश, गोरखापत्र संस्थानको ६१ औँ वार्षिकोत्सव तथा गणतन्‍त्र दिवसको समेत सन्दर्भ पारेर भूगोलपार्कस्थित संस्थानको केन्द्रीय कार्यालयमा आयोजित तस्बिर प्रदर्शनी र डिजिटल अर्काइभ स्टुडियोको मङ्गलबार अवलोकन गर्दै उहाँले भन्नुभयो, “गोरखापत्र सबै मिडियाको ‘नेता मिडिया’ बन्नुपर्छ ।”
विसं २०३० देखि २०६३ सम्म खिचिएका श्यामश्वेत तस्बिरहरू समेटिएको प्रदर्शनीका तस्बिर ऐतिहासिक रहेको बताउँदै उहाँले यस्ता तस्बिरले इतिहास सम्झाउने र इतिहासलाई लिपिबद्व गर्ने काम गर्नुका साथै हाम्रा मानसपटलबाट बिर्सेका घटना र परिघटनालाई स्मरण गराउने तथा इतिहासको संरक्षण पनि गर्ने चर्चा गर्नुभयो ।
उहाँले भन्नुभयो, “धेरै दु:खकष्ट ठक्कर खाएर हामी यहाँसम्म आएका छौँ । यी सबै कुरालाई संस्थागत गर्नुका साथै इतिहासका रूपमा राख्न यस प्रकारका प्रदर्शनीले मद्दत पुग्ने छ ।” गोरखापत्र दैनिकलाई डिजिटाइजेसन गर्ने काम गरेकोमा संस्थानलाई धन्यवाद दिँदै उहाँले आगामी दिनमा गोरखापत्र अझ ‘स्मार्ट’ र राम्रो बनेर अगाडि बढ्ने आफूले विश्वास लिएको बताउनुभयो ।
‘सरकारी मिडिया र सरकारले राम्रो गरे पनि त्यही आउँछ, नराम्रो गरे पनि त्यही आउँछ’ भन्ने जस्ता गोरखापत्रबारे अहिलेसम्म रहेको बुझाइलाई चिर्नुपर्ने आवश्यकतासमेत औँल्याउनुभयो । उहाँले प्रतिबद्धता र कटिबद्धतासाथ आआफ्नो जिम्मेवारी पूरा गर्न गोरखापत्रकर्मीलाई निर्देशनसमेत दिनुभयो ।
अहिले गणतन्त्र, लोकतन्त्र र समावेशितामाथिको प्रहार भइरहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “यो धेरै कष्ट र मूल्यबाट प्राप्त भएको हो । यसका लागि धेरैको रगत र पसिना बगेको छ । धेरैले आफन्त गुमाएका छन् । धेरै कुरा गुमेका छन् ।”
“शासन सत्तामा बस्ने मानिसले गरेका गल्तीको दोष गणतन्त्रले पाउनुहुँदैन” भन्दै सरकारका प्रवक्तासमेत रहनुभएकी मन्त्री शर्माले गणतन्त्रलाई स्थापित गर्न र अगाडि बढाउन यसका लागि सङ्घर्ष गरेका तथा यसका सरोकारवालाले नै अगाडि सर्नुपर्ने स्पष्ट पार्नुभयो ।
गणतन्त्र दिवसका अवसरमा मन्त्रालयद्वारा प्रकाशन गरिएको ‘गणतन्त्रका १५ वर्ष’ भन्ने सामग्री पुस्तिकामा गणतन्त्र ठिक हो कि बेठिक हो भन्ने कुरा तथ्याङ्कका आधारमा पुष्टि गर्ने कोसिस गरिएको उहाँले बताउनुभयो । सो पुस्तिकामा गणतन्त्र आउनुअघिको अवस्था र अहिलेको अवस्थाबारे तुलनात्मक अध्ययन गरिएको छ ।
“गणतन्त्र र लोकतन्त्र ठिक कुरा हुन् किनभने यसैमा राजनीतिक र अभिव्यक्ति स्वतन्त्रता छ,” उहाँले भन्नुभयो, “गणतन्त्रमा हामीले आमनागरिकलाई सेवा प्रदान गर्नैपर्छ । जनतालाई सेवा प्रदान नगरिने र गणतन्त्र ठिक हो भनेर मात्र हुँदैन । सेवा दिन नसक्नेको समीक्षा हुन सक्छ ।” गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले तस्बिर प्रदर्शनी तथा डिजिटल अर्काइभ स्टुडियोको अवलोकन गरी न्यानो हौसला एवं अभिभावकीय मार्गदर्शन प्रदान गर्नुभएकोमा मन्त्री शर्माप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।