गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १० गते । गोरखापत्र संस्थानमा कार्यरत पत्रकार तथा कर्मचारीको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा शुक्रबार पत्रकार तथा कर्मचारीको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।
नेपाल पत्रकार महासङ्घ, गोरखापत्र प्रतिष्ठान शाखाको आयोजना र गोरखापत्र संस्थानको व्यवस्थापनमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा मुटु, कलेजो, मिर्गौला, मधुमेह, पिसाब परीक्षण, सामान्य स्वास्थ्य जाँच, ईसीजी, ईको र भिडियो एक्स–रेसहितको सेवा उपलब्ध थियो । शिविरमा १६४ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।  
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले नि:शुल्क स्वास्थ्य शिविरमा सेवा प्रदान गर्नुभएका चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीप्रति आभार व्यक्त गर्नुभयो । उहाँले व्यस्त जीवनमा स्वास्थ्यलाई कम महत्त्व दिइरहेको सन्दर्भ उल्लेख गर्दै आफ्नो स्वास्थ्यप्रति सचेत हुनुपर्नेमा जोड दिनुभयो ।  
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले मुलुककै जेठो सञ्चार माध्यममा आएर स्वास्थ्य शिविरबाट सेवा दिन पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्गदानका सम्बन्धमा गोरखापत्रले निरन्तर समाचार प्रकाशन गर्दा कानुन निर्माणमा सहयोग पुगेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले त्यस्ता व्यक्तिको परिवारले अङ्गदान गर्न सहमति जनाएर छ जनालाई मिर्गौला र एक जनालाई कलेजोसमेत प्रत्यारोपण गरिएको जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासङ्घ, गोरखापत्र शाखाका अध्यक्ष सरोज ढुङ्गेलले आफूूले स्वास्थ्य रिपोर्टिङको सिलसिलामा समयमै स्वास्थ्य परीक्षण नगर्दा धेरैले पीडा भोग्नु परेको प्रसङ्ग जोड्नुभयो । उहाँले यस्तै विविध घटनाले गर्दा स्वास्थ्य शिविर आयोजनाको प्रेरणा मिलेको बताउनुभयो ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका गौरव पन्तको संयोजकत्वमा केन्द्रका डा. लुसान सिंह, डा. प्रवेश न्यौपाने, डा. लक्ष्मीप्रसाद त्वायना, रुवि मानन्धर, सरु कोजु, निलम पण्डित, गौरव श्रेष्ठ, रविना श्रेष्ठ र सविता ताम्राकारलगायत २६ जना चिकित्सकको टोलीले सेवा दिनुभएको थियो । महासङ्घले डा. पुकारचन्द्र श्रेष्ठलाई सम्मानपत्र र शिविरमा संलग्न स्वास्थ्यकर्मीलाई कदरपत्र प्रदान गरेको छ । यसैगरी शिविरमा १० जनाले अङ्गदानका लागि इच्छापत्रमा हस्ताक्षर गरेका छन् ।