गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन ३२ गते । गोरखापत्र संस्थान व्यवस्थापनले दि राइजिङ नेपालको निमित्त प्रधान सम्पादकमा भीमसेन थपलियालाई नियुक्त गरेको छ । दि राइजिङ नेपालका निमित्त प्रधान सम्पादक जगदीश पोखरेलले राजीनामा दिनुभएपछि रिक्त रहेको सो पदमा कार्यकारी सम्पादक थपलियालाई संस्थान व्यवस्थापनले आइतबार नियुक्त गरेको हो । त्रिपुरासुन्दरी गाउँपालिका–६ धादिङमा २०२४ साउन २६ मा जन्मनुभएका थपलियाले उपसम्पादकका रूपमा २०५२ साल जेठमा संस्थान प्रवेश गर्नुभएको  हो ।
त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातक र अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गर्नुभएका थपलियाले पत्रकारिताको २५ वर्षे यात्रामा समाचार सङ्कलनदेखि प्रमुख समाचार संयोजक र लेखरचना शाखाको प्रमुख लगायत जिम्मेवारी सम्हालिसक्नुभएको छ । निमित्त प्रधान सम्पादक थपलियाले दि राइजिङ नेपालमा कडा परिश्रम र उच्च प्रेरक जनशक्ति रहेको चर्चा गर्दै मुलुककै पहिलो अङ्ग्रेजी दैनिकको विषयवस्तुमा सुधार गरी पाठकका बीचमा अझ लोकप्रिय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस्तै संस्थान व्यवस्थापनले निवर्तमान निमित्त प्रधान सम्पादक पोखरेललाई बिदाइ गरेको छ । सो अवसरमा संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले दि राइजिङ नेपाललाई अझ पठनीय बनाउँदै नयाँ उचाइमा पु¥याउन व्यवस्थापनले आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । यस्तै संस्थानका सल्लाहकार सम्पादक गोपाल खनालले निजी क्षेत्रका दैनिक प्रकाशनले निरन्तर सङ्घर्ष गरिरहेको बेला संस्थानका प्रकाशनले नयाँ गतिसाथ अगाडि बढिरहेको बताउनुभयो । उहाँले पछिल्ला डेढ वर्षयता संस्थानका प्रकाशनका गुणस्तर वृद्धि गरी परिवर्तन ल्याएको बताउनुभयो । यस्तै निवर्तमान निमित्त प्रधान सम्पादक पोखरेलले पछिल्ला दिनमा दि राइजिङ नेपालले नयाँ ऊर्जासाथ बजारमा आफ्नो उपस्थिति देखाएको बताउनुभयो । गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक श्रीधर आचार्यले संस्थानका दुई प्रकाशन गोरखापत्र र दि राइजिङ नेपाल पछिल्ला दिनमा एकसाथ मिलेर काम गरिरहेको बताउनुभयो ।