वि.सं:
नेपाल संवत: ११४६ पोहेलाथ्व चतुर्थी - ४
हामीले हिमाल उठायौँ एसियाको माझमा
सभ्यता बास बसेथ्यो आएर यहीँ साँझमा ।
–राष्ट्रकवि माधवप्रसाद घिमिरे
समुन्नतिका आकाङ्क्षा, नवप्रवर्धन र स्टार्टअप विस्तारको लक्ष्य तथा जेनजी युवा पुस्ताले देश निर्माणका लागि उद्घाटित गरेका नवीन उद्देश्यबिच उद्यमशीलता विकास गरी रोजगारी सिर्जनाको नयाँ अध्याय आरम्भ गर्नुपर्ने चुनौती राज्यसामु छ । देशलाई कस्तो बनाउने, देशमै बस्नयोग्य कसरी बनाउने र त्यसका लागि कस्तो मनोबल चाहिन्छ ? देशको मुख्य बहस अहिले यिनै विषयमा केन्द्रित छ । राष्ट्रकविको प्रस्तुत कवितामा भनिएझैँ प्राचीन सभ्यतासँग जोडिएको नेपाल राष्ट्रको पहिचान विश्वमाझ एउटा सफल र सम्पन्न देशका रूपमा स्थापित गर्नुपर्ने चुनौतीलाई अवसरमा बदल्ने अभिभारा नयाँ पुस्तामाथि छ ।
पहिलो र दोस्रो पुस्ताको अनुभव मिलाएर राष्ट्रलाई आधुनिक, प्रविधि र विकाससम्पन्न राष्ट्र बनाउनेतर्फ अघि बढ्नु छ । चुनौती छन् तर जहाँ चुनौती हुन्छन्, त्यहाँ अवसर सिर्जना गर्न सक्ने क्षमता प्रदर्शन गर्न सके समुन्नतिको नवीन यात्रा अवश्य प्रारम्भ हुन्छ । केही भएकै छैन भन्ने भाष्य अन्त्य गरेर सात दशकको सङ्घर्षबाट प्राप्त उपलब्धिलाई सर्वोपरि मानेर देशमा आशाको सञ्चार गर्नु नै राज्य र सरोकारवाला नेतृत्वको दायित्व हो ।