वि.सं:
नेपाल संवत: ११४६ पोहेलाथ्व चतुर्थी - ४
नेपालको आर्थिक बहसमा प्रायः ‘पैसाको कमी’ लाई विकासको मुख्य अवरोधका रूपमा प्रस्तुत गरिन्छ तर विकासमा अवरोध सिर्जना गर्ने मूल कारण पुँजीको अभावभन्दा पनि त्यसको प्रभावकारी परिचालन र निजी क्षेत्रप्रति विश्वासको सङ्कट भएको स्पष्ट देखिएको छ ।
नेपालको आर्थिक अवस्था गहिरो विरोधाभासले भरिएको देखिन्छ । एकातिर बैङ्किङ प्रणालीमा तरलता थुप्रिएको छ, विदेशी मुद्रा सञ्चिति ऐतिहासिक उचाइमा पुगेको छ र रेमिट्यान्स आप्रवाह तीव्र रूपमा बढिरहेको छ । अर्कोतिर सरकारी खर्च, विशेषतः पुँजीगत खर्च अत्यन्तै सुस्त छ र निजी क्षेत्रको कर्जा विस्तार कमजोर देखिन्छ । यी सूचकले स्पष्ट सङ्केत गर्छन्– समस्या स्रोतको अभाव होइन, नीति, कार्यान्वयन र विश्वासको सङ्कट हो ।
अर्थतन्त्रमा पैसा प्रशस्त छ तर गति छैन । तरलता, रेमिट्यान्स र सञ्चिति बलियो हुँदा पनि उत्पादन, रोजगारी र विकास सुस्त हुनु गहिरो नीतिगत असन्तुलनको परिणाम हो । अबको चुनौती स्रोत जुटाउने होइन, विश्वास, कार्यान्वयन र पुँजी परिचालनलाई एउटै दिशामा लैजाने हो । यही दिशामा नीति केन्द्रित नभएसम्म आर्थिक सूचकहरू केवल आँकडामै सीमित रहने छन् । आर्थिक वर्षको पाँच महिनामा राजस्व सङ्कलन २७ प्रतिशत र कुल खर्च २९ प्रतिशतमा सीमित रहनु आफैँमा चिन्ताजनक सङ्केत हो । अझ गम्भीर पक्ष के छ भने पुँजीगत खर्च साढे आठ प्रतिशत मात्र हुनु विकास निर्माण ठप्प प्रायः भएको पुष्टि हो । बजेट विनियोजन हुनु र त्यसको प्रभावकारी कार्यान्वयन नहुनुबिचको पुरानै रोग यस वर्ष पनि दोहोरिएको देखिन्छ ।