वि.सं:
नेपाल संवत: ११४६ चिल्लाथ्व सप्तमी - ७
गोरखापत्र अनलाइन
काठमाडौँ, फागुन १० गते । फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाता शिक्षाका लागि गोरखापत्र संस्थानले आइतबार अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन निर्वाचन आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गर्नुभयो ।
कावा प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनको विकल्प निर्वाचन मात्र भएकाले निर्धारित समयमा निश्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन सम्पन्न गर्नुको विकल्प नभएको बताउनुभयो । निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएकाले निर्वाचनबाटै सुशासन कायम गर्न सकिने उहाँले धारणा राख्नुभयो । प्रमुख भण्डारीले थप्नुभयो, “जसरी पनि निर्वाचन निर्धारित समयमा हुनुपर्छ । कुनै भ्रममा कोही पर्नु हुन्न ।”
फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तय भएको बताउनुहुँदै प्रमुख भण्डारीले भन्नुभयो, “निर्वाचन सम्पन्न गराउन निर्वाचनले सुरक्षासहित व्यवस्थापनको उचित व्यवस्थापन गर्नुपर्छ ।” निर्वाचन निष्पक्ष र भयरहित बनाउन मिडियाको भूमिका पनि महत्त्वपूर्ण हुने बताउँदै उहाँले मिथ्या सूचना प्रवाह नगर्न उहाँले आग्रह गर्नुभयो ।
