वि.सं:
नेपाल संवत: ११४६ चिल्लाथ्व नवमी - ९
काठमाडौँ, पुस ३० गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको हित हुने गरी जिम्मेवारीपूर्वक काम गर्न गोरखापत्रको नेतृत्वलाई निर्देशन दिनु भएको छ।
मन्त्रालयमा बुधबार गोरखापत्र संस्थानका नवनियुक्त अध्यक्ष गोविन्दप्रसाद (अखण्ड) भण्डारीलाई नियुक्तिपत्र प्रदान गर्दै मन्त्री खरेलले इतिहास बोकेको संस्था गोरखापत्रको शाख बलियो हुने गरी काम गर्न आग्रह गर्नु भयो।
सञ्चारमन्त्री खरेलले नेपाली पत्रकारिताको ऐतिहासिक संस्थाको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै देश र जनताको हितमा काम गर्ने विश्वास व्यक्त गर्नु भयो।
गोरखापत्र संस्थानले जनआन्दोलन र सरकारको मर्म र भावना अनुसार सुशासन कायम गर्न, भ्रष्ट्राचार नियन्त्रण गर्न र निर्वाचन सफल पार्ने गरी जनताको पक्षमा काम गर्न आग्रह गर्दै उहाँले सरकारको तर्फबाट आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्दता व्यक्त गर्नु भयो।
नवनियुक्त अध्यक्ष भण्डारीले सरकारको प्रस्ताव स्वीकार गरी गर्भिलो इतिहास बोकेको संस्थानको अध्यक्ष बनेको भन्दै आफ्नो योग्यता र क्षमताले भ्याए सम्म संस्थानको सुधार गर्दै जनताको पक्षमा काम गर्ने बताउनु भयो।
कार्यक्रममा मन्त्रालयका सचिव राधिका अर्याललेसमेत नवनियुक्त अध्यक्ष भण्डारीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो।
संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले नवनियुक्त अध्यक्ष भण्डारीलाई स्वागतका लागि मन्त्रालयमा आउनु भएको थियो।
पुस २८ गतेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई गोरखापत्र संस्थानको अध्यक्षमा नियुक्त गरेको थियो। गोरखापत्र संस्थाको ऐन २०१९ दफा ८ को उपदफा ३ बमोजिम साबिकको अध्यक्षले पाउने पारिश्रमिक, सेवा सुविधा एवं अधिकार हुने गरी जिम्मेवारी दिइएको हो।