कैलाली/धनगढी समाचारदाता
धनगढी, कात्तिक २१ गते
गोरखापत्र संस्थानले सुदूरपश्चिम र कर्णाली प्रदेशमा कार्यरत आफ्ना जिल्ला समाचारदाताहरूलाई निर्वाचन समाचार लेखनसम्बन्धी अनुशिक्षण प्रदान गरेको छ । निर्वाचनसम्बन्धी सत्यतथ्य समाचार लेखन र सम्प्रेषणमा सहज होस् भन्ने उद्देश्यले संस्थानले सोमबार धनगढीमा कार्यक्रम गरेर अनुशिक्षण प्रदान गरेको हो । अनुशिक्षण कार्यक्रमको उद्घाटन गर्नुहुँदै निर्वाचन आयोगका सविच गोकर्णमणि दवाडीले मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति रोकथामका लागि आचारसंहिताको व्यवस्था गरिएको बताउनुभयो । उहाँले आचारसंहिता सबैलाई लागू भएको उल्लेख गर्दै त्यसको पालना सबैले गर्न आवश्यक रहेको बताउनुभयो ।
मतदाता शिक्षा प्रवद्र्धन गरी सदर मत वृद्धि गराउनमा सञ्चार जगत्को भूमिका महìवपूर्ण रहेको सचिव दवाडीको भनाइ थियो । उहाँले निर्वाचन स्वच्छताको प्रवद्र्धन र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनमा सञ्चार जगत्ले महìवपूर्ण सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।
“विश्वसनीयता वृद्धि, स्वच्छता बढाउन र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनमा यहाँहरूबाट सहयोगको अपेक्षा गरेका छौँ,” सचिव दवाडीले भन्नुभयो, “सञ्चारले दूरदराजका विश्वसनीय र सही सूचना प्रवाहित गर्ने अपेक्षा छ ।”
यसैगरी कार्यक्रममा विशिष्ट अतिथि रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले पत्रकारितामा राजनीतिक प्रतिविम्ब देखिन नहुने बताउनुभयो । “पत्रकारिता आफँै पनि स्वनियमनमा बस्ने विधा हो,” उहाँले भन्नुभयो, “पत्रकारसहित हामी सबै कुनै न कुनै राजनीतिक विचारधारामा आबद्ध छौँ । तर त्यो विचारधारा हाम्रो काममा देखिनुभएन । पत्रकारितामा राजनीतिक प्रतिविम्ब हुनुभएन ।’’
सचिव अर्यालले पत्रकारिताका लागि सबैभन्दा महìवपूर्ण कुरा नैतिकता रहेको उल्लेख गर्दै निर्वाचनको बेला यसको अझै महìव रहेको बताउनुभयो । निजी मिडियासँग प्रतिस्पर्धा गर्नुपर्ने भएका कारण सरकारी मिडिया अझ बढी व्यावसायिक हुन आवश्यक रहेको अर्यालको सुझाव थियो । मिडियाहरूलाई सरकारले नियन्त्रण नगरेको भन्दै उहाँले नियमनचाहिँ
गरिरहेको बताउनुभयो ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले स्वच्छ र स्वतन्त्र रूपमा निर्वाचन सम्पन्न गर्ने राष्ट्रिय अभियान निर्वाचन आयोगको मात्रै नरहेको भन्दै त्यसमा सहकार्य गर्ने दायित्व सबैको रहेको बताउनुभयो । “तर राज्यद्वारा सञ्चालित जिम्मेवार मिडियाको हैसियतले हाम्रो आफ्नै छुट्टैखालको जिम्मेवारी र दायित्व छ,” उहाँले भन्नुभयो, “त्यसमा हामी सजग र संवेदनशील छौँ ।”
अहिले सूचना सम्प्रेषणको अनियन्त्रित प्रतिस्पर्धा रहेको उल्लेख गर्दै कार्यकारी अध्यक्ष सुवेदीले भन्नुभयो, “यसमा यदि हतार गर्‍यौँ भने हामीले कमाएको विश्वसनीयता र आधिकारिकता जोखिममा पर्ने खतरा छ । त्यसैले एकदमै संवेदनशील र सचेत भएर यो समयमा सूचना सम्प्रेषण गर्नुपर्ने दायित्व छ ।”
सरकारी मिडियाको मर्यादाको चरित्र आफ्नो ठाउँमा र व्यावसायिक पत्रकारिताको मर्यादा पनि आफ्नो ठाउँमा रहेको भन्दै उहाँले सबै कुरालाई ख्याल गरी भयरहित वातावरणमा मतदानका लागि मतदातालाई प्रेरित गर्नेखालको सामग्री सञ्चारमाध्यममा हुनुपर्नेमा जोड दिनुभयो । गोरखापत्रका महाप्रबन्धक लालबहादुर ऐरीले राज्यको मिडिया भएकाले मुलुकमा भइरहेको आवधिक निर्वाचन सफल बनाउने दायित्व गोरखापत्रको रहेको बताउनुभयो । “त्यही दायित्व निर्वाहका लागि अनुशिक्षण कार्यक्रम गरिएको हो,” उहाँले भन्नुभयो । निर्वाचनमा गोरखापत्रको भूमिका अरूभन्दा फरक किसिमको हुनुपर्नेमा महाप्रबन्धक ऐरीले जोड दिनुभयो । गोरखापत्रलाई राज्यसँग जोड्ने अभियान रहेको उल्लेख गर्दै उहाँले अभियानसँग जोड्नेगरी जनशक्ति र संस्थालाई रूपान्तरण गरेर अगाडि बढिरहेको बताउनुभयो ।
गोरखापत्र दैनिकका प्रधानसम्पादक शिवकुमार भट्टराईले राज्यद्वारा सञ्चालित सञ्चारमाध्यम भएकाले गोरखापत्रको जिम्मेवारी बढी र दायित्व अरूभन्दा फरक रहेको बताउनुभयो । “त्यसका लागि हामी सबै सचेत र तयार भएर बसेका छौँ,” उहाँले भन्नुभयो, “प्रशिक्षणमा सिकेका कुरा र आचारसंहिताका कुरा व्यवहारमा लागू गरेमा अझै धेरै कुरा सुधार गर्न सकिन्छ ।”
गोरखापत्रको पुँजी भनेकै आधिकारिकता र विश्वसनीयता रहेको उल्लेख गर्दै प्रधानसम्पादक भट्टराईले अगाडि थप्नुभयो, “हामीले हाम्रो दायित्व निर्वाह गर्नुपर्छ । त्यो भनेको राज्यको दायित्व हो । त्यसमा हामी सचेत छौँ ।”
अनुशिक्षण कार्यक्रममा आयोगका सचिव दवाडीले निर्वाचन आयोगबाट निर्वाचनका सन्दर्भमा भइरहेका कार्य र तयारीका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । यस्तै गोरखापत्र दैनिकका प्रमुख समाचारदाता केदार भट्टराई र वरिष्ठ पत्रकार हरिबहादुर थापाले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले शुभकामना मन्तव्य राख्नुभएको थियो । अनुशिक्षण कार्यक्रममा सुदूरपश्चिम र कर्णाली प्रदेशमा कार्यरत गोरखापत्रका जिल्ला समाचारदाताहरूको सहभागिता रहेको थियो ।