गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १ गते
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस स्वतन्त्रता र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको दृष्टिकोणले नेपाल दक्षिण एसियामै उत्कृष्ट रहेको धारणा व्यक्त गर्नुभएको छ ।
गोरखापत्र संस्थानको सहप्रकाशन दी राइजिङ नेपाल दैनिकको ५७औँ वार्षिकोत्सव समारोहलाई शुक्रबार सम्बोधन गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । संविधानमै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति
कहीँकतै नरही नेपालमा रहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले यसको सही सदुपयोग हुनुपर्ने बताउनुभयो ।
“प्रेस स्वतन्त्रताका नाममा जुन किसिमका विसङ्गति देखा परेका छन्; त्यसलाई अनदेखा गरियो भने समाजमा पर्ने प्रभावका बारेमा सचेत हुनुपर्छ,” उहाँले भन्नुभयो, “समाजलाई सही दिशा निर्देश गर्ने खालको र नेपाली समाजलाई प्रतिनिधित्व गर्ने खालको विश्वसनीय पत्रकारिता हुनुपर्छ ।” सरकारको स्तुति गान गर्ने पत्रिकाको रूपमा नभएर सत्यतथ्य जे छ त्यतातिर ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।
पत्रपत्रिका खोज्दा ठेक्का वा विज्ञापन वा सनसनी समाचार मात्रै नभई विश्वसनीय अखबारका रूपमा जनताले खोजुन् भन्नेतर्फ ध्यान पुर्‍याउन आग्रह गर्दै मन्त्री कार्कीले नेपाली जनताको आवाज मुखरित गराउने किसिमको अङ्ग्रेजी दैनिकका रूपमा दी राइजिङ नेपाल अगाडि आउन जरुरी रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “संसारभरि नै छापामाध्यमलाई अनलाइनले विस्थापित गरिरहेको यथार्थ छर्लङ्ग छ । त्यसको विश्लेषण र व्याख्या गरी अगाडि बढ्नुपर्छ । दी राइजिङ नेपाललाई पठनीय, विश्वसनीय र अङ्ग्रेजी भाषामा छाता अखबारको रूपमा विकसित गर्ने चुनौती छ । सफलता मिलोस्, शुभकामना छ ।”  
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भई परिणाम सार्वजनिक भइसकेको प्रसङ्ग उल्लेख गर्दै नेपाल सरकारका प्रवक्ता मन्त्री कार्कीले अब कुनै विलम्ब नगरी विकास र समृद्धिको यात्रामा मुलुकलाई अग्रसर गराउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको चाहना अब मुलुक विकास र समृद्धिको दिशामा अग्रसर होस् भन्ने छ । त्यो पूरा गर्ने दायित्व हामी सबैको काँधमा छ । अब कुनै विलम्ब नगरीकन पूरा गर्ने प्रतिबद्धताका साथ अघि बढ्नुपर्छ ।”
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले सत्य तथ्य, यथार्थ र सही सूचना दिनेमा स्वच्छ एवं स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने बताउँदै ढिलो होस् तर गलत सूचना प्रवाह नहोस् भन्नेतर्फ सावधानी अपनाउन आग्रह गर्नुभयो ।
उहाँले नकारात्मक समाचार बढी बिक्ने, भ्रम फैलाउने, सनसनी मच्चाउने खालको हुने गरेकोमा त्यसबाट बचेर आमपाठकको मन जित्ने खालको अझ पठनीय, विश्वसनीय र सङ्ग्रहणीय सूचना सम्प्रेषण गर्न सफलता मिलोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले अङ्ग्रेजी भाषा, साहित्य र पत्रकारिताको प्रवद्र्धनमा दी राइजिङ नेपालको योगदान महìवपूर्ण रहेको बताउनुभयो । उहाँले गत केही समययता लेआउट डिजाइन, मानव अभिरुचिका समाचार प्रकाशन तथा पत्रिकाको गुणस्तरमा निकै सुधार आएको र पाठकबाट समेत सकारात्मक प्रतिक्रिया आएको उल्लेख गर्नुभयो । संस्थानका प्रकाशनहरूमा
छापिएका सामग्री र तस्बिरलाई अभिलेखीकरण गर्ने कार्य भइरहेको र त्यसका लागि डिजिटल ल्याब निर्माणाधीन रहेको उहाँले
बताउनुभयो ।
संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले प्रेस स्वतन्त्रतामा अङ्कुश लागेको अत्यन्त जटिल परिस्थितिमा दी राइजिङ नेपालको प्रकाशन प्रारम्भ भएको बताउँदै अहिले पत्रकारिताको आयाम, अन्तर्राष्ट्रिय अभ्यास र सूचना प्रविधिको स्वरूपसमेत फेरिएको तथा सूचनाको व्यापकता बढेको बताउनुभयो । उहाँले सरकारको आवाज मात्रै होइन आम जनता र पाठकको आवाज बनाउनेतर्फ संस्थान व्यवस्थापन अग्रसर रहेको बताउनुभयो । उहाँले पाठ्यसामग्रीमा परिवर्तन र वितरणमा सहज पहुँच स्थापित गरी पाठकसामु उपस्थित भइरहेको स्पष्ट गर्नुभयो ।
कार्यक्रममा दी राइजिङ नेपालका प्रधानसम्पादक भीमसेन थपलियाले ‘दी राइजिङ नेपाल : विश्वासको विरासत’ कार्यपत्र प्रस्तुत गर्दै पत्रिका प्रकाशन प्रारम्भ भएदेखि हालसम्म भए गरिएका गतिविधि र पत्रिकाले दिएका सामग्रीहरूका बारेमा अवगत गराउनुभएको थियो । वरिष्ठ पत्रकार पी खरेल र दी राइजिङ नेपालका पूर्वप्रधानसम्पादक जगदीश पोखरेलले टिप्पणी गर्दै सुधारका लागि सुझाव दिनुभएको थियो ।
वार्षिकोत्सव समारोहमा गोरखापत्र दैनिकका प्रधानसम्पादक शिवकुमार भट्टराई, संस्थान सञ्चालक समिति सदस्यहरू सचिन पोखरेल र राजु महत, दी राइजिङ नेपालका प्रबन्ध सम्पादक नारायण उपाध्याय, दी राइजिङ नेपालका पूर्वप्रधानसम्पादकहरू, संस्थानका विभिन्न विभाग तथा शाखाका प्रमुखहरूको उपस्थिति थियो । २०२२ साल पुस १ गते दी राइजिङ नेपालको प्रकाशन प्रारम्भ भएको थियो ।