गोरखापत्र समाचारदाता

थाक्रे (धादिङ), पुस १३ गते । देशका हरेक विद्यालयमा अनिवार्यरूपमा मुना मासिक बालपत्रिका उपलब्ध गराउनुपर्ने व्यवस्था गर्न बालसाहित्यकारहरूले सुझाव दिनुभएको छ । सामुदायिक विद्यालयहरूलाई सरकारले पुस्तकालय स्थापनाका लागि अनुदान उपलब्ध गराउने गरेको र ती पुस्तकालयमा मुना मासिक बालपत्रिका अनिवार्यरूपमा राख्नैपर्ने व्यवस्था गराउनुपर्नेमा उहाँहरूको जोड छ ।
सरकारले सामुदायिक विद्यालयलाई पुस्तकालय स्थापनाका लागि एकमुष्ट छ लाख रुपियाँ उपलब्ध गराउने गरेको छ । यस्तो रकम पाएका विद्यालयले प्रायः बालसाहित्यका भन्दा वयस्कका लागि उपयुक्त हुने पुस्तक खरिद गर्ने गरेको पाइन्छ । मुना मासिक बालपत्रिकाको प्रकाशनको ३० औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित विशेष कार्यक्रममा राजधानीबाट यहाँ आइपुग्नुभएका बाल साहित्यकारहरूले स्थानीय तहले बालसाहित्यको विकास र प्रोत्साहनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो ।
बाल साहित्य समाजका अध्यक्ष डा. शैलेन्दुप्रकाश नेपालले हरेक विद्यालयले मुना मासिक बालपत्रिकालाई अनिवार्यरूपमा लिनैपर्ने व्यवस्था गर्नु जरुरी भएको बताउँदै भन्नुभयो, “विद्यालयका पुस्तकालयमा बाल साहित्यका सामग्री छैनन् । मुना मासिकले यसको परिपूरण गर्न सक्छ । ”
समाजका उपाध्यक्ष प्रमोद प्रधानले मुना मासिकमा बालबालिकाका रचनालाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्दै सबै जातिको प्रतिनिधित्व हुने गरी बालसाहित्यमा सुधार गर्नु आवश्यक रहेको बताउनुभयो । बालसाहित्यमा विद्यावारिधि उपाधि हासिल गर्नुभएका डा. ध्रुव घिमिरेले मुना पत्रिकामा प्रारम्भिक बालशिक्षाका बालबालिकाका लागि उपयुक्त हुने सामग्री नभएकाले उनीहरूका लागि आख्यानरहितका चित्रकला प्रस्तुत गरिदिँदा राम्रो हुने सल्लाह दिनुभयो ।
अचेलका बालबालिका सूचना प्रविधिको प्रयोगमा निकै अगाडि बढिसकेकाले उनीहरूका लागि मुना लगायतका बालपत्रिकाको एप्स तयार गरिदिनुपर्ने, हरेक जातिको धर्म संस्कृतिबारे जानकारी समावेश गरिनुपर्ने, बालबालिकालाई पैसा कमाएर ठूलो मानिस बन्नुपर्दछ भन्नुभन्दा असल मानिस बन्नुपर्दछ भनेर शिक्षा दिने खालका सामग्रीलाई जोड दिनुपर्ने सुझाव उहाँले दिनुभयो ।
बाल साहित्यकार महेश प्रसाईंले नियात्रा, लघुकथा, यौन मनोविज्ञानका रचना अपुग रहेको बताउनुभयो । अर्का साहित्यकार देवु लुइँटेलले समाजमा मनोसामाजिक समस्या बढ्दै गएकाले बालबालिकालाई उत्प्रेरणा जगाउने खालका सामग्री समेट्नुपर्ने सल्लाह दिनुभयो । थाक्रे गाँउपालिका वडा नम्बर ५ का वडाध्यक्ष भूमिबहादुर तामाङले बालबालिकाका क्षेत्रमा स्थानीय तह काम गर्न इच्छुक रहेको बताउँदै आफ्नो क्षेत्रमा रहेका सबै विद्यालयमा मुना पत्रिकाको पहुँच पु¥याउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
थाक्रे गाँउपालिकाका अध्यक्ष रामकुमार आचार्यले गाउँपालिकाभित्र रहेका ४४ वटै विद्यालयमा मुना पत्रिका उपलब्ध गराउन आफूहरूले व्यवस्थान गर्ने बताउँदै हरेक स्थानीय तहले मुना लगायतका बालपत्रिकालाई विद्यालयसम्म पु¥याई पठन संस्कृतिको विकास गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
सोही गाउँपालिकाका उपाध्यक्ष अम्बिका रूपाखेतीले धर्म संस्कृतिका पक्षमा बालपत्रिकामा कमै स्थान दिने गरेको बताउँदै विभेदविरुद्ध शिक्षा दिने सामग्रीलाई जोड दिनुपर्ने बताउनुभयो । प्रेमसागर फाउन्डेसनले स्थानीय पाँच सय बालबालिकालाई दैनिक निःशुल्क खाना र डेढ हजार बालबालिकालाई खाजा खुवाउँदै आएको छ । शनिबारको खाना मुना बालपत्रिकाका तर्फबाट खुवाइएको थियो । सो फाउन्डेसनका उपाध्यक्ष डा. प्रेमराज ढुङ्गेलले बालबालिकालाई खानाका साथै ज्ञान र सामाजिक सद्भावमा अभिवृद्धि भएको बताउँदै संस्थाले अभिभावकको आय आर्जनका लागि विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको बताउनुभयो ।
स्थानीय सामाजिक अभियन्ता रमेश आचार्यले बालबालिकाको बहुआयामिक प्रतिभा प्रस्फुटन गर्न र लुकेको क्षमतालाई उजागर गर्न मुनाले विशेष योगदान गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले बालबालिकाका लागि प्रकाशित पत्रिका बालबालिकाका हातमा पुग्नुपर्दछ भन्दै थप्नुभयो, “मुनाप्रति बालबालिकाको आकर्षण बढ्दो छ । समयमा उनीहरूका हातमा पत्रिका पु¥याउन हामीहरू प्रतिबद्ध छौँ । ” उहाँले बालसाहित्यकारहरूलाई मुनाले पुरस्कार प्रदान गर्ने घोषणासमेत गर्नुभयो ।
मुनाका सम्पादक शिवकुमार भट्टराईले उपत्यकाभन्दा बाहिर बालबालिकाका सामु पहिलोपटक मुना पत्रिकाको कार्यक्रम आयोजना भएको र यस्तो कार्यक्रमलाई निरन्तरता दिइने बताउँदै साहित्यकारहरूले दिनुभएका सुझावका आधारमा आफूहरू अगाडि बढ्ने बताउनुभयो ।
गोरखापत्रका सम्पादक सल्लाहकार गोपाल खनालले मुनाले बा(लबालिकालाई ठूला बनाउनेभन्दा असल बनाउने सन्देश दिँदै आएको बताउनुभयो । सो अवसरमा स्थानीय १७ वटा विद्यालयका बालबालिकाले नाचगान, चित्रकला लगायतका कार्यक्रम प्रस्तुत गरेका थिए । मुना बालपत्रिकाको प्रकाशनको ३० औँ अवसरको उपलक्ष्यमा ३० वटा धुपीसल्लाका बिरुवा स्थानीय विद्यालयहरूलाई वितरण गरिएको थियो ।