नो नेभर, एगेन एन्ड अगेन भन्न पाइन्छ तर यसोभन्दा सामाजिक मर्यादा र सदाचारको ख्याल गर्नुपर्छ भन्दा अहिले आयोगले मुद्दा खेपिरहेको छ । के निर्वाचनपछि मिथ्या सूचना सम्प्रेषण र सामाजिक सदाचार उल्लङ्घन गर्न पाइन्छ ? त्यही लोकतन्त्र हो भन्न मिल्छ ?”
निर्वाचनलाई प्रभाव पार्नेगरी आउने मिथ्या सूचना, घृणास्पद वातावरणलाई सञ्चारमाध्यमले निस्तेज पार्नुपर्ने उहाँले बताउनुभयो । उहाँले सामाजिक सञ्जालको सदुपयोग गरेर शिष्ट भाषामा निर्वाचनको प्रचारप्रसार गर्न पनि सुझाव दिनुभयो ।
“सामाजिक सञ्जालको प्रयोगमार्फत निर्वाचनमय वातावरण बनाउन जरुरी छ,” उहाँले भन्नुभयो, “सामाजिक सञ्जालमार्फत दुष्प्रचार, घृणास्पद अभिव्यक्ति र भ्रमपूर्ण सूचना प्रवाहलाई निस्तेज बनाउन जरुरी छ ।”
निर्वाचनप्रति मतदातालाई ऊर्जा प्रदान गर्न आमसञ्चार माध्यमसँग आग्रह गर्दै उहाँले मतदान गर्ने दिन नजिकिँदै गएकाले मतदान गर्ने तरिकालाई समाचारमा प्रस्फुटित गर्न पनि आग्रह गर्नुभयो । अब नागरिकलाई शान्त दिमागले मतदानको वातावरण र कर्तव्यबोध गराउनेखालका समाचार प्रवाह गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले निर्वाचन सुरक्षालाई ध्यानमा राखेर कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । उहाँले आचारसंहिताको पालना गर्न सबैसँग आग्रह गर्दै पालना नगर्ने जोकोहीलाई पनि कारबाही गर्ने बताउनुभयो । चितवनका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले निर्वाचनसँग सम्बन्धित सही र तथ्यपूर्ण अवस्था देखाउन पत्रकारलाई आग्रह गर्नुभयो ।  
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले गोरखापत्रले निर्वाचनका समाचार प्रकाशन र प्रसारण गर्दा सन्तुलन कायम गरिरहेको र यसलाई निरन्तरता दिने बताउनुभयो । “राज्यको नियमनमा सञ्चालित गोरखापत्रको दायित्वप्रति सचेत रही निर्वाचन आचारसंहिता र संवेदनशीलतामा अत्यन्त गम्भीर रही काम गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।
संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्र संस्थान आमनिर्वाचनलाई सफल बनाउन दृढतापूर्वक लागिपरेको बताउनुभयो । “निर्वाचन सम्पन्न गराउनु हाम्रो राष्ट्रिय दायित्व हो, गोरखापत्र संस्थान त्यो दायित्व पूरा गर्न तयार छ । हाम्रा सबै प्रकाशनले जिम्मेवारीपूर्वक निर्वाचनका समाचार सामग्री सम्प्रेषण गरिरहेका छन्,” उहाँले भन्नुभयो ।
गोरखापत्र दैनिकका निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराईले जनताका आवाज मुखरित गर्ने गोरखापत्र निर्वाचन सफल पार्ने अभियानमा रहेको बताउनुभयो । दी राइजिङ नेपालका निमित्त प्रधानसम्पादक भीमसेन थपलियाले लोकतन्त्र सङ्क्रमणकालमै रहेकाले निर्वाचनलाई सफल पार्नु सबैको राष्ट्रिय दायित्व भएको बताउनुभयो ।
अनुशिक्षणमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, वरिष्ठ पत्रकार प्रतीक प्रधान, गोरखापत्र दैनिकका नायब कार्यकारी सम्पादक केपी गौतम, गोरखापत्र अनलाइनका निमित्त सम्पादक नारद गौतमलगायतले प्रशिक्षण दिनुभएको थियो ।