धनगढी समाचारदाता
धनगढी, वैशाख २६ गते
गोरखापत्रले आमनागरिकको समस्यासँग सम्बन्धित खोजमूलक तथा सकारात्मक समाचार दिनुपर्ने सुदूरपश्चिम प्रदेशका प्रबुद्ध व्यक्तित्वहरूले जोड दिएका छन् ।  गोरखापत्र प्रकाशनको १२३ औँ वर्ष प्रवेश तथा संस्थानको ६१ औँ वार्षिकोत्सवको अवसरमा मङ्गलबार धनगढीमा आयोजित अन्तव्रिर्mयामा सहभागीहरूले सो कुरामा जोड दिनुभएको हो ।
गोरखापत्र संस्थान सुदूरपश्चिम प्रदेश कार्यालयले आयोजना गरेको उक्त कार्यव्रmमका सहभागीहरूले मिडियामा नकारात्मक विषयवस्तुले बढी स्थान पाउँदा समाज पनि त्यस्तै हुने भएकाले गोरखापत्रले सकारात्मक र समाजमा आशा जगाउने खालका समाचार दिनुपर्ने जिकिर गर्नुभयो ।
राज्यको हरेक निकायमा गोरखापत्र पुग्ने गरेकाले सुदूरपश्चिम प्रदेशको सम्भावनालाई उजागर गर्ने गरी खोजमूलक समाचारलाई प्राथमिकता दिन आग्रह गरिएको छ । कार्यव्रmममा प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कमलराज ढकालले नेपाली पत्रकारिताको आधार स्तम्भ गोरखापत्र रहेको उल्लेख गर्नुहुँदै समाजका सकारात्मक पक्षलाई बढी उजागर गर्न आग्रह गर्नुभयो ।
“नकारात्मक समाचार बढी हुँदा समाज पनि त्यस्तै भयो,” उहाँले भन्नुभयो, “मिडियाले सकारात्मक समाचार दिनुपर्छ । सञ्चार माध्यमले जति सकारात्मक कुरा दिन्छ, समाज पनि त्यति नै सकारात्मक हुँदै जान्छ ।” अहिले पत्रपत्रिका ‘गेस पेपर’ पढे जस्तै लाग्ने गरेको छ उहाँले भन्नुभयो, ‘टेस्ट बुक’ पढेको जस्तो लाग्ने बनाउन आवश्यक रहेको छ । गोरखापत्रले आफूलाई समयसापेक्ष बनाउन ‘न्युज’ र भ्युज’ दुवै दिनुपर्ने सुझाव उहाँको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले विभिन्न बहानामा प्रत्येक पालिकामा रहेका सरकारी तथा सार्वजनिक जग्गा सकिन थालेको उल्लेख गर्नुहुँदै यस्ता घटनालाई गोरखापत्रले गम्भीर भएर उजागर गर्नुपर्नेमा जोड दिनुभयो । गोरखापत्रले दिने सूचना र समाचार आधिकारिक तथा विश्वसनीय हुने गरेको भनाइ उहाँको छ ।
त्यस्तै भाषा, कला, साहित्य र संस्कृति संरक्षणमा समेत गोरखापत्रको योगदान उल्लेखनीय रहेको उहाँले आगामी दिनमा अझ परिस्कृत
ढङ्गले अगाडि बढ्न सुझाव दिनुभएको छ । प्राध्यापक देवराज अवस्थीले गोरखापत्रले राजनीति परिवर्तन, जनचोतना र विकासको क्षेत्रमा खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै व्यावसायिक क्षमता अभिवृद्धि गरेर राज्यले पत्रकारलाई आर्थिक रूपमा सबल बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य भरत शाहले आमनागरिकका समस्या गोरखापत्रमा मात्रै नभई अरू पनि सञ्चार माध्यममा आउनुपर्ने बताउनुभयो । उहाँले बेथितिका कारण प्रदेश सरकारले विगत पाँच वर्षसम्म जति गर्नुपर्ने काम हो त्यति काम गर्न नसकेको गुनासो गर्नुभयो । जनता, कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वबीच तारतम्य नमिलेका कारण जनताले चाहे अनुरूप प्रदेशमा विकासको जग बस्न नसकेको सहभागीले धारणा राख्नुभयो । सञ्चार माध्यमहरूले विभिन्न किसिमको जल्दोबल्दो मुद्दा उठाउँदै आए पनि कार्यान्वयन गर्ने निकायबाट सुनुवाइ नहुने गरेको पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलले बताउनुभयो । उहाँले सुदूरपश्चिम प्रदेशको विकासका लागि गोरखापत्रले मात्रै नभई यहाँका सबै सञ्चार माध्यमले राम्रो भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
यस कार्यमा सरकारी सञ्चार माध्यम भएका कारण गोरखापत्रको अझ बढी भूमिका रहेको भनाइ उहाँको थियो । कार्यव्रmममा सहभागीहरूले सुदूरपश्चिम प्रदेशमा थुप्रै सम्भावना रहेको औँल्याउनुभएको थियो । त्यस्ता सम्भावनाको उजागर र सदुपयोगका लागि सञ्चार माध्यमहरूले विश्लेषणात्मक तथा खोजमूलक समाचार सम्प्रेषण गर्नुपर्नेमा उहाँहरूको सुझाव थियो ।
धनगढी उपमहानगरपालिकाका कार्यपालिका सदस्य अनिलकुमार भुजनियाँले सूचना प्रविधिले
फड्को मारेसँगै विभिन्न माध्यमबाट समाचार तत्कालै आउने गरेकाले गोरखापत्र जस्ता प्रिन्ट मिडियागृहले सम्भावनालाई उजागर गर्ने गरी विश्लेषणात्मक समाचार दिनुपर्ने सुझाव दिनुभयो ।
त्यस्तै पर्यटन व्यवसायी मायाप्रकाश भट्टले सुदूरपश्चिममा कृषि, जलस्रोत र पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै यसको उजागर गर्न आग्रह गर्नुभयो । सुदूरपश्चिमको विकास गर्न छिमेकी राष्ट्रसँग उत्तर–दक्षिणतर्फ ‘कनेक्टिभिटी’ बढाउनुपर्ने र एउटा अन्तर्राष्ट्रिय विमानस्थल हुन आवश्यक रहेको उहाँको भनाइ थियो ।
बुद्धिजीवी हरि रेग्मीले सम्भावनाका कुरा उजागर हुनुपर्ने भन्दै विभाजन भएको समाजलाई पनि मिडियाले जोड्नुपर्ने उल्लेख गर्नुभयो । “समाज विभाजित रहेसम्म विकास सम्भव छैन,” उहाँले भन्नुभयो । मुलुकमा धेरै परिवर्तनको साक्षी गोरखापत्र रहेको भनाइ सहभागी वक्ताको थियो । समग्र पत्रकारिताको विकासमा गोरखापत्रको महìवपूर्ण भूमिका रहेकाले गोरखापत्रले खोजपत्रकारिता गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । गोरखापत्र सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख कृतबहादुर विष्टको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यव्रmममा प्रदेश संयोजक प्रकाशविक्रम शाहले गोरखापत्रको इतिहास र वर्तमान अवस्थाका बारे प्रकाश पार्नुभएको थियो ।