गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन ९ गते
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गोरखापत्र संस्थानका प्रकाशनहरूलाई थप परिस्कृत र पठनीय बनाउँदै लैजानुपर्ने बताउनुभएको छ ।
मन्‍त्रालयमा आयोजित गोरखापत्र संस्थानको प्रस्तुतीकरण कार्यक्रमलाई मङ्गलबार सम्बोधन गर्दै उहाँले प्रविधिको तीव्र विकास भइरहेको वर्तमान अवस्थामा गोरखापत्रले आफूलाई रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । मन्‍त्री शर्माले संस्थानसँग रहेका प्रिन्टिङ मेसिनलगायतका प्राविधिक साधन स्रोतको अधिकतम उपयोग गरेर व्यापार बढाउनुपर्नेमा जोड दिनुभयो ।
संस्थानको मूल भवनको पुनर्निर्माण तथा अन्य पूर्वाधार विकास लागि मन्त्रालयबाट नीतिगत सहजीकरण गरिदिने उहाँले आश्‍वासन दिनुभयो । मन्‍त्री शर्माले लामो समयदेखि अल्झिएको नयाँ कर्मचारी विनियमावली छिटै टुङ्गो लगाएर कर्मचारीको वृत्तिविकासलाई सहजीकरण गरिदिने बताउनुभयो । उहाँले पछिल्लो समयमा गोरखापत्रले आफ्नो स्वरूप र सामग्रीको प्रस्तुतिमा गरेको सुधार प्रशंसनीय रहेको बताउँदै भूगोलको माग र विषयअनुसार गोरखापत्रले सम्पादकीय सामग्रीलाई अझ विशिष्टीकृत गर्नुपर्ने बताउनुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्‍त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले गोरखापत्र र दी राइजिङ नेपालको डिजाइन लेआउटमा गरिएको परिवर्तनले पाठकमा सकारात्मक प्रभाव परेको र सामग्रीको प्रस्तुतिमा नयाँपन पनि देखिएको बताउँदै राज्यको नीति, कार्यक्रमलाई प्राथमिकताका साथ सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।
उहाँले लामो समयदेखि अल्झिएको कर्मचारीको वृत्तिविकास र स‌ंस्थानले थालेका सुधारका अन्य कार्यमा पनि मन्‍त्रालयले सहजीकरण गर्ने बताउनुभयो ।
संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले संस्थानको समग्र अवस्थासँगै सुधारका प्रयास र सम्भावना एवं चुनौतीबारे प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले वर्तमान डिजिटल युग सुहाउँदो ‘स्मार्ट गोरखापत्र’को लक्ष्य हासिल गर्न संस्थाको आन्तरिक पद्धति तथा प्रवृत्ति एवं उत्पादनको गुणस्तरमा व्यापक सुधार तथा परिवर्तन थालिएको बताउनुभयो ।
उहाँले गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालू आर्थिक वर्षको छ महिनामा संस्थानको आम्दानीमा २० प्रतिशतले वृद्धि गरिएको बताउनुभयो । संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले व्यापार तथा आम्दानी वृद्धिका नयाँ सम्भावना र विकल्प पहिल्याउँदै कार्यान्वयनमा जोड दिइएको बताउनुभयो । ब्रिफिङमा प्रकाशनका प्रधान सम्पादक तथा विभागीय प्रमुखहरूको सहभागिता थियो ।