गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ १ गते
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गोरखापत्र सजीव इतिहास बोकेको राष्ट्रको पत्रिका भएको बताउनुभएको छ । गोरखापत्र प्रकाशनको १२३ औँ तथा गोरखापत्र संस्थानको ६१ औँ वर्ष प्रवेशका अवसरमा वैशाख २४ गतेदेखि जारी फोटो प्रदर्शनीको सोमबार गोरखापत्र संस्थानमा अवलोकन गर्दै उहाँले प्रदर्शनीमार्फत गोरखापत्रको इतिहासको सजीवता देख्न पाउँदा आफू प्रभावित भएको उल्लेख गर्नुभयो ।
उहाँले गोरखापत्रको जिउँदो इतिहासलाई बलियो बनाउन फोटो प्रदर्शनीले ऊर्जा थपेको बताउनुभयो । “प्रदर्शनीमा अझ पुराना फोटा राख्न सकेको भए राम्रो हुने थियो । जङ्गबहादुरले बेलायतबाट ल्याएको नेपालकै पहिलो प्रेस गिद्धे प्रेसको फोटोबाट प्रदर्शनी सुरु भएको भए राम्रो हुन्थ्यो भन्ने लागेको छ,” सभामुख देवराज घिमिरेले भन्नुभयो ।
उहाँले पहिला पत्रिका भन्नेबित्तिकै गोरखापत्र मात्र बुझिने बताउँदै उहाँले एसएलसी
दिएपछि मात्र आफूले गोरखापत्रको महत्त्व बुझेको जानकारी दिनुभयो । आफू १७ वर्षको हुँदा २०२९ सालमा एसएलसी पास गरेकोमा एक महिनापछि मात्र गोरखापत्रमा नतिजा हेर्न पाएको
स्मरण गर्नुभयो ।
उहाँले नेपालीबाहेक गोरखापत्रमा ३८ भाषामा समाचार सामग्री प्रकाशन गर्नु भनेको भाषा, कला, संस्कृति र इतिहासको सम्मान भएको उल्लेख गर्नुभयो । गोरखापत्र संस्थानले आफ्ना पुराना प्रकाशनको विद्युतीय अभिलेखीकरण (डिजिटल अर्काइभिङ) प्रणालीको अवलोकन गर्दै सभामुख घिमिरेले इतिहासका दस्तावेजलाई विद्युतीय अभिलेखमार्फत राख्ने काम सराहनीय भएको बताउनुभयो ।
गोरखापत्र संस्थानमा २०३० देखि २०६० सालसम्मका ऐतिहासिक फोटो प्रदर्शनका लागि राखिएका छन् ।