काभ्रे समाचारदाता

काभ्रे, फागुन २८ गते । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले राष्ट्रिय एकतालाई अझै मजबुत र सुदृढ गराउने मञ्च गोरखापत्र भएको बताउनुभएको छे । गोरखापत्रको नयाँ नेपालका पृष्ठ संयोजक/सहसंयोजकको धुलिखेलमा भएको कार्यशाला गोष्ठीको शुक्रबार समापन कार्यक्रममा बोल्दै उहाँले नेपालको जातीय विविधतालाई झल्काउने र पहिचानलाई स्थापित गराउने माध्यम गोरखापत्र भएको धारणा व्यक्त गर्नुभयोे ।
कार्यकारी अध्यक्ष सुवेदीले भन्नुभयो, “गोरखापत्रमा प्रकाशित नयाँ नेपाल पृष्ठले संविधानले अँगालेको समावेशीता र सङ्घीयतालाई प्रतिनिधित्व गरेको छ ।” उहाँले गोरखापत्रमा विगत १४ वर्षदेखि निरन्तर नयाँ नेपाल पृष्ठ प्रकाशन हुनु गौरवको विषय भएको उल्लेख गर्दै त्यसलाई अझै गुणस्तरीय र पठनीय बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले नयाँ नेपाल पृष्ठमा प्रकाशित हुने भाषाको छुट्टै तालिका बनाएर अगाडि बढ्ने जानकारी दिनुभयो ।
गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराईले नयाँ नेपाल पृष्ठ प्रकाशनबाट लक्षित समुदायलाई थप लाभान्विततर्फ ध्यान दिइने बताउनुभयोे । उहाँले नयाँ नेपाल पृष्ठ प्रकाशन राज्यले जुन उद्देश्य गरिरहेको छ त्यो प।रा भए नभएको विषयमा समय समयमा छुट्टै अध्ययनसमेत गरिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले गोरखापत्रलाई लक्षित समुदायसम्म पुर्‍याउन थप प्रयास हुनुपर्ने धारणा पनि व्यक्त गर्नुभयो ।
नयाँ नेपाल पृष्ठका संयोजक/सहसंयोजकले गोरखापत्रले प्रकाशन गर्दै आएको नयाँ नेपाल पृष्ठ भविष्यमा खोज अनुसन्धानका गर्नेका लागि गतिलो दस्तावेज भएको बताउँदै अन्य भाषाभाषीलाई पनि जोड्दै जानुपर्नेमा जोड दिनुभयो ।
बिहीबारदेखि सुरु भएको कार्यशालामा दी राइजिङ नेपालका निमित्त प्रधान सम्पादक भीमसेन थपलिया, गोरखापत्रका निमित्त प्रबन्ध सम्पादक जुनारबाबु बस्नेत, भाषा पृष्ठ संयोजक कुमार विवेकानन्द मिश्र, पृष्ठ संयोजक तथा सहसंयोजकलगायतको सहभागिता रहेको थियो ।
२०६४ असोजमा १० भाषाबाट प्रकाशन सुरु भएको नयाँ नेपाल पृष्ठमा अहिले ३८ भाषा प्रकाशन हुँदै आएको संस्थानले जनाएको छ ।