गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ २० गते
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले गोरखापत्र पत्रिका मात्र नभएर राष्ट्रको गौरव भएको बताउनुभएको छ ।
गोरखापत्र संस्थानको वितरण विभागमा कार्यरत कर्मचारीहरूको अभिमुखीकरणका लागि शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गोरखापत्रले इतिहास, कला, संस्कृति, सभ्यतालगायत सम्पूर्ण देशको प्रतिनिधित्व गर्दै आएको चर्चा गर्नुभयो ।
उहाँले अहिले समय परिवर्तन भएको र डिजिटल विश्वसँग प्रतिस्पर्धामा उत्रनुपर्ने समय आएको बताउनुभयो । उहाँले भन्नुभयो, “किन पाठकले २४ घण्टा पर्खेर गोरखापत्र पढ्ने ? यो हाम्रो लागि चुनौतीका रूपमा देखा परेको छ । त्यसको समाधानका लागि हामी सबै मिलेर अगाडि
बढ्नुपर्छ ।”
उहाँले ‘स्मार्ट गोरखापत्र’को अभियान सुरु भइसकेको र प्रत्येक ग्राहकका हातमा पुग्न थालेको पनि बताउनुभयो । कार्यक्रममा गोरखापत्रका महाप्रबन्धक लालबहादुर ऐरीले सबै मिलेर अगाडि बढे गोरखापत्रको भविष्य अझ उज्ज्वल रहेको बताउनुभयो । उहाँले संस्थानमा सुधार ल्याउन
सबैको सहयोग, सहकार्य र समन्वय आवश्यक भएको बताउनुुभयो । कार्यक्रममा ८० जना
कर्मचारीको सहभागिता रहेको थियो ।