गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १३ गते । गोरखापत्र संस्थानका नवनियुक्त कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले नेपाली पत्रकारिताको जिउँदो इतिहास बोकेको गोरखापत्र र यसका प्रकाशनहरूलाई ‘डिजिटल स्मार्ट प्रकाशन’ को रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
बुधबार संस्थानमा पद बहालीपछि प्रकाशन प्रमुख तथा विभागीय प्रमुखहरू सहभागी रहेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गोरखापत्र एउटा अखबार मात्र नभएर पत्रकारिता जगत् र राष्ट्रको गौरव हो भन्नुभयो ।
नेपाली पत्रकारिताको विद्यार्थी तथा पेसाकर्मीको हिसाबले गोरखापत्र परिवारसँग जोडिन पाउँदा गर्व र खुसी महसुस भएको धारणा राख्दै कार्यकारी अध्यक्ष सुवेदीले गोरखापत्र र यसका प्रकाशनहरू कुनै दल वा सरकारका मात्र नभएर सिङ्गो राष्ट्रका सम्पत्ति हुन् भन्नुभयो । उहाँले भन्नुभयो, “गोरखापत्र गौरवशाली संस्था हो, यसलाई अझ विश्वसनीय र व्यावसायिक रूपमा विकास गर्नुपर्छ । यसका लागि सबैको सहयोग आवश्यक छ । हाम्रो भविष्य सुरक्षित र सुन्दर बनाउन गोरखापत्रलाई अझ राम्रो बनाउनुपर्छ ।”
गोरखापत्र पत्रकारिता क्षेत्रको जिउँदो इतिहास मात्र होइन, यो नेपाली सभ्यता र संस्कृतिको जीवन्त दस्तावेज भएको चर्चा गर्दै सुवेदीले थप्नुभयो, “गोरखापत्रलाई हामी सबै मिलेर स्मार्ट गोरखापत्र बनाउने सपना बोक्नुपर्छ । अहिलेको प्रविधि, गति र समयको मागअनुसार गोरखापत्र, दी राइजिङ नेपाल, मुना, मधुपर्क र युवामञ्चलाई अगाडि लानुपर्ने हामी सबैको कर्तव्य हो, प्रविधिसँगै हामी पनि दौडनुपर्छ ।”
कार्यकारी अध्यक्ष सुवेदीले हाम्रो भविष्य सुरक्षित बनाउन हामीले गोरखापत्र र यसका सहप्रकाशनहरूलाई अझ राम्रो बनाउनुपर्छ, प्रकाशनहरू राम्रो हुन सकेन भने हाम्रा पाठकले पनि हामीलाई छाड्न थाल्छन् र हाम्रो भविष्य पनि सुरक्षित हुँदैन भन्नुभयो । गत २०७२ सालको भूकम्पबाट जीर्ण भएको गोरखापत्र संस्थान भवनलाई भत्काएर नयाँ भवन निर्माण गर्ने प्रक्रिया थाल्ने पत्रमा हस्ताक्षर गरेर उहाँले आफ्नो कार्यको सुरुवात गर्नुभयो ।
गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका–१ स्थायी बसोबास रहनुभएका सुवेदी नेपाल सरकार मन्त्रिपरिषद्को असोज ११ गतेको निर्णयअनुसार बढीमा चार वर्षका लागि संस्थानको कार्यकारी अध्यक्ष पदमा नियुुक्त हुनुभएको हो । व्यावसायिक पत्रकारितामा दुई दशकभन्दा बढी क्रियाशील रहनुभएका सुवेदीले यसअघि अन्‍नपूर्ण पोस्ट्, नेपालसमय डटकमलगायतका सञ्चारमाध्यममा डिजिटल सम्पादक तथा अन्य नेतृत्वदायी भूमिकामा रहेर कार्य गर्नुभएको छ ।
कार्यक्रममा गोरखापत्र संस्थानका निमित्त महाप्रबन्धक शिवकुमार भट्टराईले पत्रकारिता क्षेत्रमा लागेर बलियो कलमका धनी कार्यकारी अध्यक्ष सुवेदीले आफ्नो लामो अनुभव र क्षमतालाई गोरखापत्रमा भरपूर प्रयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । गोरखापत्र संस्थानको उन्नति र प्रगतिका लागि चालिने हरेक कदममा संस्थान परिवारको पूर्ण सहयोग र समर्थन रहने विश्वास उहाँले दिलाउनुभयो ।