धनगढी समाचारदाता
धनगढी, जेठ ४ गते 
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार गोरखापत्र संस्थानसँग साझेदारी गर्न तयार रहेको बताउनुभएको छ । गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले बुधबार गर्नुभएको भेटघाटका क्रममा मुख्यमन्त्री भट्टले प्रदेश सरकार गोरखापत्र संस्थानसँग साझेदारी गरेर अगाडि बढ्न तयार रहेको बताउनुभएको हो ।
गोरखापत्रले प्रदेशका समाचार अझ बढी प्रकाशन गर्नु जरुरी रहेको बताउँदै उहाँले त्यसका लागि साझेदारी गरेर अगाडि बढ्न आफूहरू सकारात्मक रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो “सरकारले गरेका कामको जानकारी गोरखापत्रमार्फत जनतालाई होस् र जनताको कुरा हामीसम्म आइपुगोस् ।”
आफ्नो सञ्चारमाध्यम नहुँदा प्रदेश सरकारले समस्या भोगिरहेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले गोरखापत्रसँग अनुुदान वा साझेदारी सम्झौतामा अगाडि बढ्न सकिने बताउनुभयो । उहाँले बजेटको अवस्था हेरेर अनुदान वा साझेदारी जुन सजिलो हुन्छ त्यहीअनुसार अगाडि बढ्न प्रस्ताव गर्नुभयो ।
गोरखापत्र संस्थानका महाप्रबन्धक ऐरीले गोरखापत्र संस्थानका प्रकाशनमा प्रदेश सरकारको अपनत्व खोजिरहेको बताउनुभयो । सङ्घीयताको मर्मलाई बुझेर अहिले गोरखापत्र संस्थानको प्रकाशन गोरखापत्र दैनिक र अनलाइन संस्करणमा प्रदेशका समाचारका लागि अलग्गै स्थानको व्यवस्था गरिएको उहाँको भनाइ थियो ।
“प्रदेश सरकारलाई सहयोग पुग्ने गरेर गोरखापत्र दैनिकमा छुट्टै पेज भए पनि त्यो एकतर्फी मात्रै भएको छ”, उहाँले भन्नुभयो, “हामी त्यसमा प्रदेश सरकारको अपनत्व खोेजिरहेका छौँ ।’’
महाप्रबन्धक ऐरीले अनलाइनको प्रदेश संस्करणलाई तत्कालै प्रदेश सरकारसँग जोड्न चाहेको बताउनुभयो । “प्रदेश सरकारबाटै जनशक्ति राखेर प्रदेश सरकारका हरेक समाचार सम्प्रेषण गर्ने गरेर अनलाइनलाई तत्कालै यहीँबाट चलाउन सकिने व्यवस्था गर्न सकिन्छ”, उहाँले भन्नुभयो । उहाँले गोरखापत्र दैनिकको प्रदेश संस्करणको सम्भाव्यता अध्ययनसमेत गर्न खोजिरहेको बताउनुभयो ।
उहाँले गोरखापत्रसँग अनुदान वा साझेदारीका रूपमा अगाडि बढ्नका लागि प्रदेश सरकारलाई नीति तथा कार्यक्रममा नै व्यवस्था गर्न आग्रह गर्नुभयो । महाप्रबन्धक ऐरीले सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावलसँग समेत भेटघाट गरी गोरखापत्र दैनिकलगायत सरकारी सञ्चारमाध्यमहरू एकै थलोमा रहने गरेर सञ्चारग्रामको व्यवस्था गर्न मन्त्रीलाई आग्रह गर्नुभयो । पछिल्लो समय हुलाकसँग सम्बन्धित सरकारी संरचना खासै प्रयोगमा नरहेका कारण त्यसलाई सञ्चारग्रामका रूपमा प्रयोग गर्न सकिने उहाँले उल्लेख गर्नुभयो ।
सो क्रममा मन्त्री रावलले सञ्चारग्रामको पहलका लागि आफू सकारात्मक रहेको बताउनुभयो । उहाँले सरकारी सञ्चारमाध्यम र प्रदेश सरकार साझेदारी, सहकार्य गरेर अगाडि बढ्नुपर्ने कुरा राम्रो रहेको उल्लेख गर्नुभयो ।
गोरखापत्रका महाप्रबन्धक ऐरीले धनगढीमा रहेको गोरखापत्रको सुदूरपश्चिम प्रदेश कार्यालयको अवलोकनसमेत गर्नुभयो । उहाँलाई गोरखापत्रका सुदूरपश्चिम प्रदेश संयोजक प्रकाशविक्रम शाह, समाचारदाताहरू अविनाश चौधरी, कृत विष्टले प्रदेश कार्यालयमा स्वागत गर्नुभएको थियो ।