गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस ४ गते
गाउँपालिका राष्ट्रिय महासङ्घ र गोरखापत्र संस्थानबीच सहकार्य गरिने भएको छ । महासङ्घको  नवनिर्वाचित नेतृत्वको सम्मानमा संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी र महाप्रबन्धक लालबहादुर ऐरीले उहाँहरूको सम्मानमा आज संस्थानमा आयोजना गर्नुभएको कार्यक्रममा महासङ्घका अध्यक्ष लक्ष्मी पाण्डे र कोषाध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ले सहकार्यका लागि सहमति जनाउनुभएको हो ।
अध्यक्ष पाण्डेले स्थानीय तहलाई अझ सबल र प्रभावकारी बनाउन आमसञ्चारमाध्यमको भूमिका महŒवपूर्ण हुने बताउनुभयो । उहाँले चौथो अङ्ग भनेकै गोरखापत्र हो भन्नेजस्तो छाप परेको चर्चा गर्दै देशकै जेठो अखबार गोरखापत्र र अन्य प्रकाशनबाट प्रवाह गरिने समाचार तथा सूचनाले जनतामा सकारात्मक भावना विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले महासङ्घको आगामी बैठकमा संस्थानसँग सहकार्य र समन्वयका लागि छलफल गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
यसैगरी महासङ्घका कोषाध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ले सरकारी संरचना बलियो भएमा मात्रै जनताले पाउने सेवा अझ प्रभावकारी हुनेछन् भन्दै गाउँपालिकाहरूको छाता सङ्गठन गाउँपालिका राष्ट्रिय महासङ्घ गोरखापत्र संस्थानसँग सहकार्य, सहजीकरण र समन्वय गर्न तत्पर रहेको बताउनुभयो ।
संस्थानका कार्यकारी अध्यक्ष सुवेदीले स्थानीय सरकार बलियो हुनुपर्ने बताउँदै स्थानीय शासन प्रणालीलाई सबल, सक्षम र अझ प्रभावकारी बनाउन संस्थान सबै प्रकारका सहयोग गर्न इच्छुक रहेको जानकारी दिनुभयो । उहाँले  स्थानीय शासनलाई सदृढ बनाउन आफ्ना प्रकाशनमा राम्रो स्थान दिन चाहेको बताउनुभयो ।
यसैगरी संस्थानका महाप्रबन्धक ऐरीले स्थानीय तहका सूचना प्रवाहलाई सहजीकरण गर्न नयाँ नेतृत्वसँग संस्थान इच्छुक रहेको भन्दैै स्थानीय तहले गरेका राम्रा विकास प्रयासलाई राष्ट्रिय विकासमा जोड्न संस्थानका प्रकाशनहरू तयार रहेको बताउनुभयो । कार्यक्रममा संस्थानका अध्यक्ष सुवेदी र महाप्रबन्धक ऐरीले नवनिर्वाचित पदाधिकारीलाई बधाई र  सफल कार्यकालको शुभकामना दिँदै गोरखापत्रको पहिलो अङ्क प्रदान गरेर अध्यक्ष पाण्डे र कोषाध्यक्ष भट्टलाई सम्मान गर्नुभयो ।