गोरखापत्र समाचारदाता
काठमाडौँ, असार २८ गते । गोरखापत्र संस्थानको व्यवस्थापन, आर्थिक र प्रिन्टिङसम्बन्धी सल्लाहकारमा पत्रकार दीपक ज्ञवाली नियुक्त हुनुभएको छ ।
असार २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बुटवल उपमहानगरपालिका–९, रुपन्देहीका पत्रकार ज्ञवाली संस्थानको सल्लाहकारमा दुई वर्षका लागि नियुक्त हुनुभएको हो ।
गोरखापत्र संस्थान ऐन, २०१९ बमोजिम उहाँ नियुक्त हुनुभएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पत्रमा उल्लेख छ । समाजशास्त्रमा स्नातकोत्तर उहाँ विगत तीन दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । गोरखापत्रको लुम्बिनी प्रदेश संयोजकसमेत रहनुभएका ज्ञवालीले यसअघि न्यूनतम पारिश्रमिक निर्धारण समितिको सदस्यका रूपमा काम गरिसक्नुभएको छ ।
त्यसैगरी मन्त्रिपरिषद्को सोही दिनको बैठकको निर्णयबाट संस्थानको कानुनी सल्लाहकारमा कृष्णकुमार आङ्दाम्बे नियुक्त हुनुभएको छ । मिक्लाजोङ गाउँपालिका–१, पाँचथर निवासी आङ्दाम्बे पनि दुई वर्षका लागि नियुक्त हुनुभएको हो । नेपाल बारका पूर्व केन्द्रीय सदस्य आङ्दाम्बे कानुन क्षेत्रमा अनुभवी मानिनुहुन्छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री वसन्तकुमार नेम्वाङले सल्लाहकारद्वयलाई आइतबार मन्त्रालयमा नियुक्तिपत्र हस्तान्तरण गर्नुभएको थियो । उहाँहरू दुवैले सोमबार पदभार ग्रहण गर्नुभएको छ ।