गोरखापत्र समाचारदाता
काठमाडौँ, असार ३ गते
मुना मासिकका सम्पादक हरिप्रसाद भट्टराई शुक्रबारबाट उमेरहदका कारण अवकाश हुनुुभएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ मा जन्मनुभएका भट्टराई २०५३ साल माघ १ गते सहायक सम्पादक तह ६ मा संस्थानको पत्रकारिता सेवामा प्रवेश गर्नुभएको थियो । भट्टराईले संस्थानका विभिन्न प्रकाशनमा रहेर आफ्नो जिम्मेवारी पूरा गर्नुभएको हो ।  
उहाँलाई गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी र महाप्रबन्धक लालबहादुर ऐरी, गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराई र दी राइजिङ नेपालका निमित्त सम्पादक भीमसेन थपलियाले बिदाइ गर्नुभयो । सो अवसरमा अध्यक्ष सुवेदीले सम्पादक भट्टराई निर्भीक, सक्रिय र स्पष्ट वक्ता भएको चर्चा गर्दै उहाँको आगामी दिन थप ऊर्जाशील, सुखमय र सिर्जनशील रहोस् भन्ने
कामना गर्नुभयो ।
संस्थानका महाप्रबन्धक ऐरीले सम्पादक भट्टराई प्राविधिक रूपमा संस्थानको नियमित जिम्मेवारीबाट बिदा भए पनि उहाँको सिर्जनात्मक क्षमता र अनुभव
संस्थानले कुनै न कुनै रूपमा उपयोग गर्न सक्ने बताउनुभयो ।