गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन २२ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको पत्रकारिता विकासमा गोरखापत्र जिउँदो इतिहास भएको बताउनुभएको छ ।
गोेरखापत्र संस्थानको निरीक्षण गर्ने क्रममा आइतबार उहाँले गोरखापत्रको १२१ वर्षको निरन्तरताको इतिहास मात्र छैन, समाजमा गोरखापत्रको छुट्टै साख पनि छ, भन्नुुभयो । वि.सं. १९५८ वैशाख २४ गते प्रकाशन आरम्भ भएको गोरखापत्र नेपालको पहिलो समाचार माध्यम तथा अखबार हो ।
गोरखापत्रको ऐतिहासिकता र विश्वसनीयता नै ठूलो सम्पत्ति भएको चर्चा गर्नुहुँदै मन्त्री कार्कीले भन्नुभयो, “आमपाठकका सामु गोरखापत्रको विश्वसनीयता छ, गोरखापत्रका सबै प्रकाशन अझै पठनीय बनाउनेतर्फ लाग्नुपर्ने देखिन्छ ।” उहाँले स्पष्ट पार्नुभयो, “अहिले बजारमा निकै प्रतिस्पर्धा छ, प्रतिस्पर्धामा उत्रिनुपर्ने चुनौतीलाई चिर्दै आमपाठकलाई आगामी दिनमा गोरखापत्र र यसका अन्य प्रकाशनलाई खोजी–खोजी पढ्ने बनाउनुपर्ने दायित्व हाम्रा सामु छ, तपाईंहरू लाग्नुहोस्, सरकार सहयोग गर्न तयार छ ।”
बजारमा धेरै समाचार माध्यम भए पनि पाठकलाई विश्वसनीय समाचार पस्कन नसकेको चर्चा गर्नुहुँदै मन्त्री कार्कीले विश्वसनीय सञ्चार माध्यम समाजलाई जरुरी छ, त्यसको आवश्यकता गोरखापत्रले पूरा गरोस् भन्ने सरकारको चाहना छ भन्नुुभयो । उहाँले आफू सानो बच्चा हुँदादेखि गोरखापत्रको नाउँ सुनेको हुँ र पढेको हुँ, यो नै गोरखापत्रको सम्पत्ति हो, त्यसैले हिजोभन्दा आज र आजभन्दा भोलि गोरखापत्रको भविष्य राम्रो रहने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले थप्नुुभयो, “अब जिम्मेवारीबाट पन्छिएर भाग्ने अवस्था छैन, जवाफदेही, अधिकार र कर्तव्य एकसाथ लिएर जानुपर्छ, गोरखापत्र संस्थानलाई आइपरेका अप्ठ्यारालाई सहजीकरण गर्न सरकार सधैँ तयार छ ।”
त्यस अवसरमा मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले आमपाठकको रोजाइमा गोरखापत्रका प्रकाशन पर्न सक्ने गरी काम गर्न भन्नुुभयो । उहाँले भन्नुभयो, “गोरखापत्रसँग अरू कसैको तुलना हुन सक्दैन तर पनि गोरखापत्रका उत्पादन अझ पठनीय बनाउन जरुरी छ र यसको वितरण व्यवस्था चुस्त र दुरुस्त बनाउन आवश्यक छ ।”
गोरखापत्रले आफ्नो गौरवमय इतिहासलाई कायम राख्न धेरै चुनौती रहेको विश्लेषण गर्नुहुँदै सचिव अर्यालले भन्नुभयो, “गोरखापत्रले आफ्नो जनशक्तिको सदुपयोग गर्न सक्नुपर्छ र बजारमा उत्कृष्ट एवं विश्वसनीय सञ्चार माध्यमका रूपमा स्थापित हुनुपर्छ, त्यसका लागि सरकारले आवश्यक सहयोग गर्न तयार छ ।”
चालू आर्थिक वर्षको कार्य प्रगतिलाई अझ सुधार्न उहाँको जोड छ । गोरखापत्र अनलाइन, दी राइजिङ नेपाल, मासिक प्रकाशनहरू मधुुपर्क, युवामञ्च, मुना मासिकको आफू पाठक भएको चर्चा गर्नुहुँदै सचिव अर्यालले भन्नुुभयो, “अझै पनि अनलाइन संस्करणभन्दा छापिएका सामग्री पढ्दा बढी आनन्द आउँछ, त्यसैले वितरण प्रणालीलाई अझै प्रभावकारी बनाउनुपर्छ ।”
उहाँले सूचना प्रविधिमा आएको तीव्र विकासलाई ध्यानमा राखेर गोरखापत्रका सबै प्रकाशनलाई डिजिटलमा लानुुपर्छ भन्नुुभयो । उहाँले गोरखापत्र संस्थानको पुरानो भवन पुनर्निर्माण गर्नुपर्ने जरुरी देखिएको छ, यसका लागि पहल गरिने विश्वास पनि दिलाउनुुभयो ।