काठमाडौं फागुन १० गते । 
गोरखापत्र संस्थानको लेखापरीक्षणका सम्बन्धमा महालेखापरीक्षकको कार्यालयमा आज सम्पन्न समीक्षात्मक बैठकमा संस्थानको सुधारका लागि नेपाल लेखामान, रिपोर्टिङ प्रणाली अनुरुप लेखाविधि अबलम्बन गर्न महालेखापरीक्षक टंकमणि शर्माले निर्देशन दिनु भएको छ । 
आ. व. ०७३÷७४ को संस्थानको लेखापरीक्षण गर्न महालेखापरीक्षको कार्यालयबाट नियुक्त एनबीएसएम एण्ड एसोसिएट्स र के. के. भट्टराई  एण्ड कम्पनीले लेखा परीक्षण सम्पन्न गरी प्रस्तुत गर्नुभएको प्रारम्भिक लेखापरीक्षण प्रतिवेदनमाथि महालेखापरीक्षकको कार्यालयका अधिकारीहरु, संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्याय तथा लेखापरीक्षकहरुवीच बुँदागत रुपमा छलफलसमेत भएको छ । 
सोही अवसरमा विगतका वर्षहरुमा लेखापरीक्षण प्रतिवेदन माथि औल्याइएका कैफियत बुँदाहरुलाई यथाशक्य चाँडो कार्यान्वयन गर्न, संस्थानको कार्यसम्पादन प्रभावकारी बनाउन महालेखापरीक्षक कार्यालयका अधिकारीहरुले निर्देशन दिनु भएको थियो । साथै आय आर्जनका लागि डिजिटल न्यूज पोर्टल संचालन गरी आम्दानीका श्रोत विविधकरण गर्न समेत  संस्थान व्यवस्थापन लाग्नुपर्ने सुझाव महालेखापरीक्षक शर्माले दिनुभएको थियो । 
उक्त समीक्षा बैठकमा महालेखापरीक्षक कार्यालयका निर्देशक बैकुण्ठ अधिकारी, उप–महालेखापरीक्षक जीवन सुवेदी गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्याय, लेखापरीक्षक दुर्गाप्रसाद ज्ञवाली, कृष्णकुमार ज्ञवाली संस्थानको अर्थ विभाग प्रमुख रामसुन्दर चौधरीले संस्थानको प्रारम्भिक लेखापरीक्षण प्रतिवेदनका मुख्य मुख्य बुँदा बैठकमा प्रस्तुत गर्नुभएको थियो ।