मुलुककै सबभन्दा पुरानो राष्ट्रिय दैनिक गोरखापत्र प्रदेश १ को राजधानी विराटनगरबाट पूर्वक्षेत्र प्रकाशन सुरु गर्न लागेको अवसरमा बुधबार स्थानीय बुद्धिजीवीसँग अन्तक्र्रिया गरिएको छ । संविधान दिवसको अवसरमा असोज ३ गतेबाट औपचारिक रूपमा प्रदेश १ र २ का पाठकलाई विराटनगरबाट पूर्वक्षेत्र प्रकाशन गर्ने तयारी भएको छ । यसका लागि विराटनगरमा तयार गरिएको कार्यालय भवन, छपाइ प्रेस लगायत पूर्वाधारको बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उद्घाटन गर्ने कार्यक्रम छ ।
विराटनगरका विभिन्न पेसा, वर्ग र समूहका व्यक्तित्वसँगको अन्तक्र्रियामा गोरखापत्रका सम्पादक सल्लाहकार गोपाल खनालले ११९ वर्षको गोरखापत्र पुरानो हो तर गोरखापत्रलाई हेर्ने दृष्टिकोण नयाँ हुनुपर्ने विचार व्यक्त गर्नुभयो । गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक श्रीओम श्रेष्ठले गोरखापत्र सरकारको मुखपत्र नभएर राष्ट्रको मुखपत्र भएको चर्चा गर्दै तटस्थ र विश्वसनीय समाचार दिन गोरखापत्रले प्रयास गरिरहेको बताउनुभयो ।

गोरखापत्रको सहप्रकाशन दी राइजिङ नेपालका निमित्त प्रधान सम्पादक जगदीश पोखरेलले गोरखापत्र र दी राइजिङ नेपाल विराटनगरबाट प्रकाशन गर्दा चुनौती भए पनि अवसर पनि धेरै भएको धारणा व्यक्त गर्नुभयो । उहाँले समाजमा सञ्चारका विभिन्न माध्यमको विकल्प रहेको भए पनि विश्वसनीयताका लागि गोरखापत्र नै खोजी हुने भएकाले ती पाठकको सम्मानका लागि पूर्वक्षेत्र प्रकाशन सुरु गरिएको बताउनुभयो ।
कार्यक्रममा सहभागीहरूले विराटनगरबाट प्रकाशन गर्ने निर्णयमा खुशी व्यक्त गर्दै यसले स्थानीय जनचासोलाई अझ प्रभावकारी रूपमा सम्बोधन गर्न सक्ने आशा व्यक्त गर्नुभयो । उहाँहरूले गोरखापत्रको पुरानो छाप 'आधिकारिकता, विश्वसनीयता र निष्पक्षता'लाई कुनै अप्ठ्यारोमा पनि नभुल्न आग्रह गर्दै गोरखापत्र गोरखापत्र नै भएर अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो ।