सिराज खान/ललित बसेल/गोविन्द शर्मा

कोहलपुर, फागुन ७ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दी लामो यात्रा पार गरेको गोरखापत्रले राजनीति, सामाजिक, विकास, इतिहास, संस्कृति र साहित्यको उन्नयनमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभएको छ । उहाँले गोरखापत्र थुप्रै राजनीतिक र सामाजिक परिवर्तनको साक्षी बनेको बताउँदै वर्तमान डिजिटल युगमा यसलाई सन्तुलित र व्यावसायिक बनाउन पनि सुझाव दिनुभएको छ ।
कोहलपुरमा निर्माण भएको गोरखापत्र संस्थानको प्रकाशन गृहको शनिबार काठमाडौँबाट ‘भर्चुअल’ रूपमा उद्घाटन गर्नुहुँदै उहाँले गोरखापत्रलाई अझ जिम्मेवार, व्यावसायिक र विश्वसनीय बनाउनु आवश्यक रहेको बताउनुभयो ।
उहाँले गोरखापत्रले आफ्नो पहुँच देशव्यापी रूपमा विस्तार गर्नेक्रममा आफ्नै भौतिक पूर्वाधारसहित कोहलपुरबाट पश्चिम संस्करण प्रकाशन गर्न लागेकोमा गोरखापत्र परिवारलाई बधाई दिनुभयो । कोहलपुरबाट गोरखापत्रको आफ्नै प्रेस सञ्चालनमा आएपछि गोरखापत्रको उपस्थिति र पहुँच लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पुग्नेमा आफू आशावादी रहेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले गोरखापत्र नेपाली पत्रकारिता इतिहासको गौरवमय संस्था भएको र १२१ वर्षे गोरखापत्रको यात्रा मुलुकको जीवन इतिहासको आधारशिला पनि भएको बताउनुभयो । विक्रम संवत् १९५८ देखि जनतालाई निरन्तर रूपमा सूचना तथा शिक्षा प्रदान गर्दै आएको गोरखापत्र मुलुकको जेठो अखबारमात्र नभई, नेपाली पत्रकारिताको पाठशाला पनि भएको उहाँले जनाउनुभयो । उहाँले भन्नुभयो, “गोरखापत्र नेपालको सभ्यता, संस्कृति, साहित्य र भाषिक विविधताका धरोहर पनि हो ।”
 सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गोरखापत्रले कोहलपुरबाट प्रकाशन गर्न लागेको कामले सिङ्गो नेपाललाई एकताको सूत्रमा बाँध्ने अभियानलाई जोडेको बताउनुभयो ।  गोरखापत्रको विषयवस्तुको प्रस्तुतीकरणले अहिले यो पत्रिका सरकारीभन्दा पनि राज्यको अखबारका रूपमा पाठकसामु देखापरेको मन्त्री कार्कीले उल्लेख गर्नुभयो । पृथक पहिचान कायम राखी व्यावसायिक रूपमा अग्रसर रहन पनि उहाँले गोरखापत्रलाई
सुझाव दिनुभयो ।
नेपालको मात्र नभई, दक्षिण एसियाको सबैभन्दा पुरानो अखबारका रूपमा परिचित गोरखापत्रको आगामी यात्रा अझै प्रभावकारी हुने विश्वास लिएको मन्त्री कार्कीले व्यक्त गर्नुभयो । गोरखापत्रले सधैँ सही र सत्य समाचारलाई मात्र पस्कन्छ भन्ने विश्वास सबैमा रहेको भन्दै मन्त्री कार्कीले आधिकारिकता र सत्य समाचारका लागि सधैँ गोरखापत्र नै पढ्नुपर्ने अवस्था
रहेको बताउनुभयो ।
१२१ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको गोरखापत्र दैनिक नेपाली समाजको ज्युँदो इतिहास भएको मन्त्री कार्कीले जनाउनुभयो । नेपाल र नेपालीको सिङ्गो पहिचान बोक्न सफल गोरखापत्रको यात्रा गौरव गर्नलायकको छ भन्दै उहाँले गोरखापत्रले कोहलपुरबाट प्रकाशन यात्रा सुरु गरेपछि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आफ्नो विस्तार बढाउनेमा विश्वस्त रहेको बताउनुभयो ।  
यसले विभिन्न जातजाति, संस्कृति, भौगोलिक विविधतालाई समेत समेट्नुपर्ने दायित्व पनि गोरखापत्रले बोक्नुपरेको भन्दै उहाँले राष्ट्रिय एकता र सद्भावका पक्षमा पनि आफूलाई उभ्याउनुपरेको हुँदा यो गोरखापत्रको गौरव भएको बताउनुभयो ।