गोरखापत्र समाचारदाता
 
काठमाडौँ, चैत २१ गते । गोरखापत्र संस्थानका नवनियुक्त महाप्रबन्धक लालबहादुर ऐरीले सोमबारबाट संस्थानमा पदबहाली गर्नुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को गएको बिहीबार बसेको बैठकले उहाँलाई गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा नियुक्ति गर्ने निर्णय गरेको थियो । 
नयाँ सडक धर्मपथस्थित संस्थानको केन्द्रीय कार्यालयमा महाप्रबन्धक ऐरीलाई संस्थानका कार्यकारी अध्यक्ष विष्णुुप्रसाद सुवेदी, गोरखापत्र दैनिकका प्रधानसम्पादक शिवकुमार भट्टराईलगायतका विभागीय तथा शाखा प्रमुखले स्वागत गर्नुभयो । 
कार्यकारी अध्यक्ष सुवेदीले संस्थानले सज्जन र सक्षम महाप्रबन्धक पाएकाले संस्थानको हितलाई शिरमा राखेर मिलेर काम गर्ने विश्वास दिलाउनुुभयो । उहाँले संस्थान परिवार र व्यक्तिगततर्फबाट महाप्रबन्धक ऐरीलाई सफल कार्यकालका लागि शुभकामना दिनुुभयो । 
पदबहालीपछि महाप्रबन्धक ऐरीले नेपालको प्रत्येक परिवर्तनको साक्षी रहेको गोरखापत्रको गौरवमय इतिहास रहेको चर्चा गर्दै यस्तो ऐतिहासिक संस्थासँग आफू जोडिन पाउँदा खुसी लागेको बताउनुभयो । 
उहाँले सञ्चार क्षेत्रको बदलिँदो परिस्थितिले छापा माध्यममाथि चुनौती आइपरेको छ भन्दै प्रविधिलेसमेत फड्को मारेको अवस्थामा गोरखापत्रलाई हरेक दृष्टिकोणले राम्रो, प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिनुुभयो ।  उमेर र अनुभवको हिसाबमा आफूूले पाएको जिम्मेवारी विशेष र चुनौतीपूर्ण रहेको बताउँदै महाप्रबन्धक ऐरीले संस्थानका विभिन्न विभागमा रहेर जिम्मेवारी निर्वाह गरिरहनुभएका अग्रजहरूसँग समन्वय गरी सङ्गठनको हितमा योजना र प्रस्तावअनुसार काम गर्ने प्रतिबद्धता जनाउनुभयो । 
कार्यक्रममा कर्मचारी प्रशासन विभाग तथा व्यापार विभागका प्रमुख ओम भुसालले संस्थानको वस्तुुगत अवस्थाबारे महाप्रबन्धक ऐरीलाई जानकारी गराउनुुभएको थियो ।