गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ११ गते । गोरखापत्र संस्थान सञ्चालक समितिको रिक्त दुई सदस्य नियुक्त हुनुभएको छ ।  नेपाल सरकार मन्त्रीस्तरीय निर्णयबाट गोरखापत्र संस्थानका प्रबन्धक राजुकुमार महत संस्थान ऐन, २०१९ को दफा ८ को उपदफा १ को खण्ड (ङ) बमोजिम सदस्य पदमा मनोनयन हुनुभएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।
उक्त उपदफाबमोजिम उहाँ कर्मचारी प्रतिनिधिका रूपमा सदस्य नियुक्त हुनुभएको हो । चन्द्रागिरि नगरपालिका वडा नं. १५ निवासी महत विगत २२ वर्षदेखि संस्थानमा कार्यरत हुनुहुन्छ । उहाँ व्यवस्थापन विषयमा स्नातक हुनुहुन्छ । त्यस्तै, पत्रकार कविता अधिकारी अर्को रिक्त सदस्यमा नियुक्त हुनुभएको छ । अधिकारी गोरखापत्र संस्थान ऐनको दफा ८ को उपदफा १ को खण्ड (घ) बमोजिम नियुक्त हुनुभएको हो ।
उक्त दफामा सञ्चालक समितिमा पत्रकार तथा साहित्यकारको प्रतिनिधित्व उल्लेख छ । मोरङ जिल्ला सुनवर्षी नगरपालिका–३ निवासी अधिकारी अर्थशास्त्रमा स्नातकोत्तर हुनुहुन्छ । विगत १२ वर्षदेखि पत्रकारिता गर्दै आउनुभएकी अधिकारी चक्रपथ डट कमको प्रधानसम्पादक हुनुहुन्छ । दुवै सदस्यको कार्यकाल चार वर्ष तोकिएको छ ।