गोरखापत्र समाचारदाता
धुलिखेल, फागुन २६ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले गोरखापत्रमा प्रकाशित हुँदै आएको ‘नयाँ नेपाल’ बहुभाषिक पृष्ठहरूलाई थप परिष्कृत गर्न मन्त्रालय तयार रहेको बताउनुभएको छ । वि.सं. २०६४ असोज १ गतेबाट राष्ट्र भाषामा प्रकाशन सुरु गरेको गोरखापत्रले हाल ३८ भाषामा सामग्री प्रकाशन गर्दै आएको छ ।  
गोरखापत्र संस्थानले बिहीबार आयोजना गरेको ‘नयाँ नेपाल पृष्ठ संयोजक र सहसंयोजकको कार्यशाला गोष्ठी’लाई सम्बोधन गर्दै सचिव डा. अर्यालले समावेशी भाषाको पृष्ठलाई थप परिष्कृत गर्न मन्त्रालय तयार रहेको बताउनुभयो ।
सचिव अर्यालले भन्नुभयो, नेपालको इतिहास र गौरव बोकेको नयाँ नेपाल पृष्ठलाई मन्त्रालय थप परिष्कृत गर्न तयार छ । यसका लागि समुदायस्तरमा पनि भाषाको प्रभावकारिताबारे सबैको सहयोगको खाँचो छ ।
उहाँले भाषा समयअनुसार परिवर्तन भइरहेको र वर्णशङ्कर भएर आइरहेकाले यसको समुदायस्तरमै संरक्षण र सम्बद्र्धन गर्न जरुरी छ भन्नुभयो । उहाँले भन्नुभयो, “भाषा समाजको ऐना हो तर अहिले भाषा वर्णशङ्कर रूपमा परिवर्तन भइरहेको छ, यसलाई जोगाउनुपर्ने आवश्यकता छ ।”
देशका विभिन्न भागमा बोलिने थप भाषाहरू पनि सूचीकरणका लागि आएका र गोरखापत्रमा छाप्ने अनुरोध आइरहेकाले भाषाहरूको स्तरीयता र प्रभावकारिताबारे पनि छलफल गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
नयाँ नेपालमा प्रकाशित समाचार सामग्रीहरू उक्त समुदायमा कति पहुँच राख्छ भन्ने सर्भे पनि गर्नुपर्ने समय आएको सुझाव सचिव डा. अर्यालको छ ।  
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले नयाँ नेपाल पृष्ठ गोरखापत्रको गौरवपूर्ण इतिहास भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ नेपाल बहुभाषिक पृष्ठ मात्र नभई नेपालको जातीय विविधतालाई झल्काउने र पहिचानलाई स्थापित गराउने माध्यम बनेको छ ।” कार्यकारी अध्यक्ष सुवेदीले नयाँ नेपाल पृष्ठका संयोजक र सहसंयोजक यसका सम्मानका पात्र भएको बताउँदै उहाँहरूको पारिश्रमिक उल्लेख्य मात्रामा वृद्धि गर्ने तयारी भइरहेको जानकारी दिनुुभयो ।
वैशाखदेखि नयाँ नेपाल पृष्ठ डिजिटल रूपमा समेत आउने तयारी भइरहेको सूूचित गर्दै उहाँले भाषाको गुणस्तरीयता र समुदायमा पहुँच पुर्‍याउन गोरखापत्र संस्थान थप अध्ययन र अनुसन्धान गर्न तयार छ भन्नुुभयो ।
कार्यकारी अध्यक्ष सुवेदीले भन्नुभयो, “गोरखापत्रको वेबसाइट वैशाखदेखि नयाँ स्वरूपमा आउँदैछ, जसमा नयाँ नेपालको पनि डिजिटल भर्सनमा समाचारहरू प्रकाशन हुने व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।”
यसैगरी गोरखापत्र दैनिकका प्रधानसम्पादक शिवकुमार भट्टराईले नयाँ  नेपाल बहुभाषा पृष्ठ गोरखापत्रको गहना भएको बताउनुहुँदै यसले  विविधतायुक्त नेपाललाई प्रतिबिम्बित गरेको धारणा राख्नुभयो ।
यस्तै तामाङ भाषाका पृष्ठ संयोजक अजितमान तामाङले राज्यले मातृभाषालाई जोगाउन समुदायस्तरका भाषाको पृष्ठ पुर्‍याउन पहल गर्न र भाषा संयोजकहरूको पारिश्रमिक र परिचयपत्र उपलब्ध गराउन आग्रह गर्नुभयो । कार्यशालामा दी राईजिङ नेपालका प्रधानसम्पादक भीमसेन थपलिया, गोरखापत्रका प्रबन्ध सम्पादक जुनारबाबु बस्नेत, भाषा पृष्ठ संयोजक कुमार विवेकानन्द मिश्र, पृष्ठ संयोजक तथा सहसंयोजकलगायतको सहभागिता छ  । गोष्ठी दुई दिनसम्म सञ्चालन हुनेछ ।