गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर १९ गते । गोरखापत्र संस्थानको उत्पादन विभागका निमित्त निर्देशक अर्जुन बस्नेत सेवानिवृत्त हुनुभएको छ । विक्रम संवत् २०४६ सालमा प्राविधिक सेवाबाट संस्थानमा सेवा सुरु गर्नुभएका बस्नेतले ३२ वर्षभन्दा बढी संस्थानका विभिन्न विभागमा जिम्मेवारी सम्हालेर उमेरहदका कारण आइतबार अवकाशप्राप्त गर्नुभएको हो । सो अवसरमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले प्राविधिक हिसाबमा उमेरहदका कारण बस्नेतले अवकाश लिनुभए पनि संस्थानलाई आवश्यक पर्दा उहाँको विज्ञता प्रयोग हुने बताउनुभयो ।
कार्यक्रममा सेवानिवृत्त बस्नेतले गोरखापत्र संस्थानमा काम सुरु गरेदेखि आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेको बताउनुभयो । उहाँले गोरखापत्र संस्थानले सञ्चारको क्षेत्रमा अरू सयौँ वर्ष निरन्तरता पाओस् भन्ने शुभेच्छा प्रकट गर्नुभयो ।