गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १२ गते
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले १२२ वर्ष पुरानो संस्था गोरखापत्रले प्रविधिमा फड्को मार्नुपर्ने बताउनुभएको छ ।
गोरखापत्र अनलाइन डट कम र राइजिङ नेपाल डेली डट कमको संयुक्त आयोजनामा शुक्रबार आयोजित ‘डिजिटल डे’ कार्यक्रममा उहाँले अब प्रविधिमा पछाडि परे बाँच्न गाह्रो हुने उल्लेख गर्नुभयो । गोरखापत्र प्रकाशन प्रारम्भ भएको ९५ वर्षपछि २०५३ फागुन १२ गते अनलाइन प्रारम्भ भएको दिनको स्मरणमा शुक्रबार गोरखापत्र डिजिटल डे मनाइएको हो ।
उहाँले भन्नुभयो, “सरकारको स्वामित्वमा १२२ वर्ष पुराना संस्था थोरै छन् । पुरानो संस्था भए पनि हामी प्रविधिमा कमजोर छौँ । गोरखापत्रले प्राविधिक रूपमा फड्को मारेन भने अब बाँच्न एकदमै गाह्रो छ । अघिल्लो वर्षदेखि गोरखापत्रको ‘स्मार्ट यात्रा’ अभियान सुरु भएको छ । अहिले सबै विभाग र शाखालाई प्रविधिमैत्री बनाउने प्रयास भइरहेको छ ।”
अध्यक्ष सुवेदीले अहिले गोरखापत्रअन्तर्गतको अनलाइनको डिजाइन र लेआउटमा नयाँ फड्को मारेको उल्लेख गर्दै गोरखापत्रका समाचारको विषयमा सामाजिक सञ्जालमा बहस र चर्चा हुने गरेको बताउनुभयो । उहाँले गोरखापत्रका अन्य विभागभन्दा काम गर्ने शैली र वातावरण अनलाइनमा फरक रहेको उल्लेख गर्नुभयो ।
राज्यको नियमनबाट सञ्चालित गोरखापत्रको आफ्नै खालको धर्म र व्यावसायिक अभ्यास रहेको उहाँले उल्लेख गर्नुभयो । राज्यको नियमको संरक्षण, नागरिकप्रतिको धर्म र बजारमा प्रतिस्पर्धाको जिम्मेवारी गोरखापत्रसँग रहेको उहाँको भनाइ छ । गोरखापत्र राज्य धर्मलाई ख्याल गर्दै व्यावसायिक बन्ने विषयमा केन्द्रित भएको उहाँले बताउनुभयो ।
संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले डिजिटल प्लेटफर्ममा गोरखापत्रको उपस्थिति कमजोर नरहेको भन्दै यसलाई समयसापेक्ष बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो । उहाँले भन्नुभयो, “इन्टरनेटको विकासले संसार नयाँ युगमा प्रवेश गरेको छ । हाम्रो डिजिटल प्लेटफर्मलाई समयसापेक्ष र विश्वसापेक्ष बनाउनु आवश्यक छ ।”
इन्टरनेटको पहुँच बढ्दै गएको र समयअनुसार आफूलाई परिवर्तन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । अनलाइनमा पाठक बढाउन अन्य माध्यमको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, “अहिले इन्टरनेटको पहुँच बढ्दै गएको छ । समयअनुसार आफूलाई परिवर्तित गर्दै लानुपर्ने देखिन्छ । अनलाइनलाई सशक्त बनाउने विषयमा हामी योजना बनाइराखेका छौँ । प्रक्रियागत कुरामा हामी गम्भीर छौँ । संस्थालाई डिजिटलमैत्री बनाउनु अहिलेको आवश्यकता हो ।”
गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराईले अबको युग डिजिटल भएकाले यसको भविष्य राम्रो रहेको बताउनुभयो । उहाँले गोरखापत्रको डिजिटल प्लेटफर्ममार्फत गोरखापत्रको विश्वसनीयतालाई थप उचाइमा पुर्‍याउनुपर्नेमा
जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “गोरखापत्रको डिजिटल प्लेटफर्मको अवस्था हेर्दा निराश हुनुपर्ने अवस्था नभए पनि धेरै उत्साहित हुनुपर्ने अवस्था पनि छैन । समयअनुसार अपडेट गर्दै डिजिटल प्लेटफर्मलाई अहिले फोकस गर्नुपर्छ । व्यवस्थापनले यो पक्षलाई प्राथमिकता दिएको छ ।” गोरखापत्रको छापा र अनलाइनका लागि समाचार सङ्कलनको एउटै समूह बनाउन सके राम्रो हुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा गोरखापत्रको डिजिटल यात्रा र अनलाइनको अभ्यासको विषयमा गोरखापत्र अनलाइनका सम्पादक नारदमुनि गौतम र राइजिङ नेपाल डेली डट कमका संयोजक नन्दलाल तिवारीले प्रस्तुति राख्नुभयो । कार्यक्रममा गोरखापत्र संस्थानका विभिन्न प्रकाशन प्रमुख र विभाग प्रमुखको
उपस्थिति थियो ।